मधेशी मोर्चाको बन्दले तराई मधेशको जनजीवन प्रभावित

काठमाडौँ । मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दले तराइ मेधशको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूmट रुपका कुदिरहेका देखिन्छन् ।
सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन् ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।
मधेशब्यापी बन्द आह्वान गर्दै मधेशी मोर्चा फेरि आन्दोलनमा उत्रिएको छ । मोर्चाको आह्वानमा आज मधेश बन्द छ ।
मोर्चाका नेता कार्यकर्ता सडकमा सरकार विरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध प्रदर्शनमा जुटेका छन् । मधेशका सबै जिल्ला सदरमुकाम र शहर चोकमा विरोध प्रदर्शन भइरहेको छ ।सरकारले बिना सहमति स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, धनुषा, सिरहा, सप्तरी, रुपन्देही, नवलपरासी, कपिलबस्तु, बाँके, बर्दिया लगायत मधेशका जिल्लाहरुमा मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दैछन् ।बन्द आह्वान र विरोध प्रदर्शनले मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । लामो समयपछि मधेश आज पुनः ठप्प भएको छ । यातायातका सवारी साधानदेखि पसल बजार बन्द गरिएका छन् ।
संविधान संशोधन नै नगरि सरकारले घोषणा गरेको चुनाव विरुद्ध आन्दोलनमा होमिएको मधेशी मोर्चाले हिजो मंगलबार साँझ मधेशब्यापी मसाल जुलुस प्रदर्शन गरेको थियो । निर्वाचन धोका हो भन्दै आन्दोलनको कार्यक्रम अनुसार पहिलो दिन मधेशका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरियो भने आज मधेश बन्द गरिएको हो ।

संशोधन अघि चुनावको औचित्य नभएको भन्दै चुनाव घोषणा गरेर मधेसलाई द्वन्द्वमा धकेल्ने काम भएको मोर्चाको आरोप छ ।

मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा आज बन्दको आह्वान गरेको हो ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हिजो साँझ सप्तरीको सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरे ।

राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको मोर्चाको मसाल जुलुसमा सरकारविरुद्ध नाराबाजी गर्दै आफूहरुको माग सम्बोधन नहुन्जेलसम्म कुनै पनि निर्वाचन हुन नदिने भन्दै राजविराजका विभिन्न भागको परिक्रमा गर्दे स्थानीय जनआन्दोलन चोकमा गएर सम्पन्न भएको थियो ।
सरकारले घोषणा गरेको निर्वाचनको विरोधमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको मधेस बन्दको पूर्वसन्ध्यामा हिजो साँझ मसाल जुलुस प्रदर्शन गरेको मोर्चाले जनाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको थियो ।
त्यस्तै, मोर्चाका कार्याकर्ताले जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगरलगायतका ठाउँमा समेत मसाल जुलुस प्रर्दशन गरेको प्रहरीले जनाएको छ ।