माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल श्रीलंकाविरुद्ध मैदान उत्रदै

काठमाडौँ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रदै छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० अन्तरले हराउदै नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

पहिलो खेलमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीको गोलमा प्रशिक्षक मेघराज केसीको नेपालले बल पोजिसन सहित उत्कृष्ट फिनिसिङ गरेको थियो । दोस्रो खेलमा समेत केसीले उहीँ प्लेइङ सेटलाई मौका दिने सम्भावना रहेको छ । केसी आयुष घलानको कप्तानीमा उहीँ सेटबाट सोही प्रदर्शन निरन्तरता दिन चाहन्छन् ।

श्रीलंका भने नेपाललाई हराउदै पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसंग १९० अन्तरले पराजित भएको थियो । यसअघि १९ र १८ वर्षको उमेर समुहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समुहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । आयोजक भारत, नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।