भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं : नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ ।

प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष चन्द यसअघि सङ्घको महासचिव हुनुहुन्थ्यो ।

यसैगरी महासचिवमा अध्यक्ष चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित भएका छन् ।

सङ्घको नयाँ नेतृत्वसहित सात उपाध्यक्ष, महासचिव, सात सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । मतदान अघिनै छ उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सचिवमा प्रदेश १ बाट विनोद श्रेष्ठ, लुम्बिनी प्रदेशबाट झकबहादुर मिदेन, कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेसबाट मोहम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमती प्रदेशबाट सुनकेशरी माली निर्विरोध निर्वाचित हुनुभयो ।

निर्वाचनमा एक सय २६ मतदाताले मतदान गर्नुभएको थियो ।