एसीसी प्रिमियर कप: मलेसियाविरुद्ध नेपाली बलरको घातक बलिङ, २१ ओभरमै खसाले ५ विकेट
काठमाडौँ, १८ भदौ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियाविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ । मलेसियाको बाङ्गीस्थित वाइएसडी युकेएम ओभल मैदानमा जारी खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले सुरुवाती ओभरदेखि नै घरेलु टोलीलाई दबाबमा राखेको हो ।
ताजा अवस्थाअनुसार खेलको २१ ओभर समाप्त हुँदा नेपालले मलेसियाका ५ महत्वपूर्ण विकेट लिइसकेको छ । नेपाली बलरहरूको कसिलो र किफायती बलिङ सामु मलेसियाका ब्याटरहरू क्रिजमा टिक्न सङ्घर्ष गरिरहेका छन् ।
जारी प्रतियोगितामा नेपाल र मलेसिया दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् । यसअघि सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले सहजै पराजित गर्दै सुखद सुरुआत गरेको थियो ।
नेपाली टोली यसपटक पनि उच्च मनोबलका साथ मैदान उत्रिएको छ । साविक विजेताको छवि बनाएको नेपालको मुख्य लक्ष्य दोस्रो पटक प्रिमियर कपको उपाधि जितेर आफ्नो वर्चस्व कायम राख्नु हो । आजको खेलमा मलेसियालाई न्यून योगफलमा समेटेर नेपालले ब्याटिङमा पनि सानदार प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।