बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज पनि वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, १८ भदौ । भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा आज पनि वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यी क्षेत्रमा आज हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिएको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार बाढी प्रभावित क्षेत्रमा दिउँसोको समयमा भारी वर्षाको सम्भावना न्यून छ । यद्यपि, रातिको समयमा भने एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने आकलन गरिएको छ । “अहिले मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेको छ, त्यसैले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने देखिँदैन,” उहाँले भन्नुभयो ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ । विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । लगातारको वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम कायमै रहने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले विशेष अनुरोध गरेका छन् ।