देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टू वान’ छलफल

चुनाव नसकिँदै भारतीय राजदूत प्रधानमन्त्री भेट्न बालुवाटार

काठमाडौं, १० मंसिर । चुनाव नसकिँदै भारतीय राजदूत नविन श्रीवास्तव प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुग्नुभएकाे छ ।

भारतीय राजदूत श्रीवास्तबीच शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा संग भेट गर्नुभएकाे हो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको बताएका छन् ।

चुनावअघि आचारसंहिताका कारण कूटनीतिक वृत्तसँग भेट हुन सकेको थिएन । अहिले मतदान सकिएपछि भेट भएको हो,’ उनले भने, ‘भेटमा नेपाल भारत सम्बन्ध, समसामयिक विषयमा छलफल भएको हुनसक्छ ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टू वान’ छलफल भएको थियो ।

भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार अपरान्ह राजदूतसँग भेट भएलगत्तै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार बिहान भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरूले बताएका छन् ।

निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला शनिबार विहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।