इलाममा साना सिँचाइ कार्यक्रमको प्रभाव : करिब ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार
काठमाडौँ, साउन २४ । इलाममा सञ्चालित साना सिँचाइ कार्यक्रमले कृषि क्षेत्रमा उल्लेख्य सुधार ल्याउँदै जिल्लाको पाँच हजार ९५० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्मको अवधिमा जिल्लाका नौ वटा पालिकामा कूल २३६ वटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका हुन् । साना सिँचाइ कार्यक्रम फिक्कल क्लस्टर कार्यालयका प्रमुख केशव लामाका अनुसार स्वीजरल्याण्ड सरकार, नेपाल सरकार, कोशी प्रदेश सरकार, स्थानीय सरकार र उपभोक्ताको साझेदारीमा कुल एक अर्ब २३ करोड ६० लाख रुपैयाँको लागतमा यी साना तथा ठूला आयोजनाहरू सम्पन्न भएका हुन् ।
परियोजनाको विवरण अनुसार इलाम नगरपालिकामा सबैभन्दा धेरै २५ करोड १५ लाख रुपैयाँको लागतमा ४० वटा आयोजना सम्पन्न भएका छन्, जसले एक हजार ४२२ हेक्टर जमिनमा सिँचाइ पुर्याएको छ। यसैगरी माङसेबुङ गाउँपालिकामा १६ करोड १७ लाखको लागतमा ६७३ हेक्टर, सूर्योदय नगरपालिकामा १४ करोड ३१ लाखको लागतमा ६०२ हेक्टर र देउमाई नगरपालिकामा १४ करोड दुई लाखको लागतमा ८०३ हेक्टर क्षेत्रमा सिँचाइ पुगेको छ। सन्दकपुर गाउँपालिकामा १३ करोड ९७ लाख खर्चिएर ७५९ हेक्टर तथा फाकफोकथुम गाउँपालिकामा १२ करोड २२ लाखको लागतमा ४८६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइएको छ। माइजोगमाई गाउँपालिकामा ११ करोड ९० लाख, रोङ गाउँपालिकामा आठ करोड पाँच लाख र माई नगरपालिकामा सात करोड ८१ लाखको लागतमा विभिन्न आयोजनाहरू सम्पन्न भई सयौँ हेक्टर जमिनमा पानीको पहुँच पुगेको छ ।
यस कार्यक्रमको वित्तीय व्यवस्थापनमा स्वीस सरकारको ३० प्रतिशत योगदान रहेको छ भने नेपाल सरकार, कोशी प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले २०/२० प्रतिशत लगानी गरेका छन्। बाँकी १० प्रतिशत लागत भने स्थानीय उपभोक्ताहरूले बेहोरेका छन् । आयोजना निर्माणका क्रममा अधिकांश स्थानमा पक्की कुलो बनाइएको छ भने कतिपय क्षेत्रमा प्लास्टिक पाइप र ग्याविन वालको प्रयोग गरिएको छ । यो कार्यक्रम इलामसहित कोशी प्रदेशका आठ पहाडी जिल्लाका ५९ स्थानीय तहमा सञ्चालन भइरहेको छ, जस अन्तर्गत प्रदेशभर हालसम्म एक हजार ४४० आयोजना निर्माण भई २५ हजार ९३ हेक्टर जमिन सिञ्चित भएको छ ।
सिँचाइको सुविधा विस्तार भएसँगै इलामका ग्रामीण किसानहरूको दैनिकी र खेती प्रणालीमा सकारात्मक परिवर्तन देखिएको छ। विगतमा आकाशे पानीको भरमा परम्परागत खेती गर्ने किसानहरू अहिले व्यावसायिक र बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन्। माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले यो कार्यक्रमले युवाहरूलाई कृषिमा आकर्षित गरी स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दत पुगेको बताउनुभयो। स्थानीय किसानहरूले सिँचाइ पुगेपछि खेत बाँझो राख्नुपर्ने बाध्यता हटेको र अन्नबालीका साथै नगदे बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि भएको अनुभव सुनाएका छन् । हाल जिल्लामा धान, मकै र गहुँका अतिरिक्त अलैँची, अदुवा, चिया र किवी जस्ता नगदे बालीको ठूलो परिमाणमा खेती हुँदै आएको छ ।