खुलामञ्चमा भूमिगत पार्किङ निर्माण विरुद्ध जनदबाब बढाउँदै स्थानीय जनता

काठमाडौं, १६ पुस । काठमाडौंमा हाल बाँकी रहेको एउटै मात्र खुल्ला स्थान खुलामञ्चलाई कंक्रिटको पार्किङ बन्नबाट जोगाउन स्थानीय जनता र सम्पदा अभियन्ताहरूले काठमाडौं महानगरपालिका र त्यसका नेतृत्वकर्ता मेयर बालेन साहमाथि दबाब बढाउने भएको छ ।

यसको लागि भोलि सोमवार बिहान १०ः३० बजे सम्पदा अभियन्ता तथा काठमाडौंका स्थानीय जनताले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयर दुवै जनालाई खुलामञ्चमा बहुतले पार्किङ नबनाउन अनुरोध गर्दै ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

हाल खुल्ला रहेको खुल्ला मञ्चको यो खाली स्थान कुनै बेला वृहत् टुँडिखेलकै अंग थियो । टुँडिखेल वर्तमान रानी पोखरीदेखि त्रिपुरेश्वरको दशरथ रंगशालासम्म फैलिएको थियो । यसलाई रंगशाला, सैनिक मुख्यालय, रत्नपार्क, सैनिक मञ्च आदि क्षेत्रमा विभाजन गर्दै जाँदा अहिले खुल्ला मञ्च रहेको यही एक टुक्रा स्थान मात्रै सबैका लागि खुल्ला रहेको छ ।

यदि यहाँ पनि तीन तल्ले गहिरो खाल्डो खनी कंक्रिटको संरचना निर्माण गरे त्यसले काठमाडौंको भूमिगत जलस्रोत र पर्यावरणलाई समेत प्रभावित गर्ने दावी विज्ञहरूले गर्दै आएका छन् । साथै अहिले काठमाडौंमा बचेको यो नै एक मात्र सार्वजनिक खुल्ला स्थान भएकोले यसलाई कुनै पनि हालतमा सुरक्षित गर्नुपर्ने माग सर्वत्र उठ्न थालेको पाइन्छ ।

महानगर भित्रै पनि विरोध

काठमाडौंमा बढिरहेको यातायातको चापलाई ध्यानमा राखी काठमाडौं महानगरपालिकाले हाल खुलामञ्च रहेको ठाउँमा अण्डरग्राउण्ड पार्किङ बनाउने निर्णय गरेको हो ।

सो ठाउँमा तीन तले भूमिगत पार्किङ बनाउने महानगरपालिकाको योजना छ । यहाँ जम्मा ५ हजार वटा सवारी साधन पार्किङ गर्न सकिने महानगरपालिकाको दावी छ ।
तर काठमाडौं नगरभित्र बचेखुचेको एउटै मात्र खुल्ला क्षेत्रलाई पनि यसरी कंक्रिटको पार्किङ बनाउने मनपाको यो योजनालाई काठमाडौं महानगरपालिका भित्रैबाट पनि कडा विरोध हुन थालेको छ । महानगरपालिकाका उपमेयर सुनिता डंगोलले स्थानीय जनतासँग कुनै संवाद नगरी यो कार्य अगाडि बढाउन नहुने बिचार राख्नुभएको छ । साथै पार्किङका अन्य विकल्पहरूलाई वेवास्ता गरी खुलामञ्चमै पार्किङ बनाउन पुग्नु हतार हुने कुरा पनि उहाँले बताउनु भएको छ ।

त्यस्तै महानगरपालिकाले पार्किङ बनाउने भनी प्रस्ताव गरिएको खुलामञ्च रहेको वडा नं. २८ का अध्यक्ष भाइराम खड्गीले पनि आफ्नो वडामा यति ठूलो संरचना निर्माण गर्न लागिएको बारे वडालाई कुनै जानकारी नभएको बताउनुभएको छ । अहिले स्थानीय जनता र सम्पदा अभियन्ताहरूले यसको विरोधमा आवाज उठाउन थालेकाले अब आफूले पनि मेयरसँग सोधपुछ गर्ने उहाँले बताउनुभयो ।

उता कामपा वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले त महानगरपालिकाको नगर परिषद् बैठकमा उक्त पार्किङ बनाउन नहुने भनी लिखित प्रस्ताव नै पेश गर्नुभएको थियो । महानगरपालिकाको नीति तथा कार्यक्रममा उक्त पार्किङ निर्माण सम्बन्धी योजना समावेश भएपछि वडा अध्यक्ष महर्जनले लिखित रुपमै यो योजना हटाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो ।

उहाँले राख्नुभएको प्रस्तावमा लेखिएको छ— ‘प्रस्तावित नीति तथा कार्यक्रममा रहेको सि.नं. ९० को खुलामञ्चसँगै रहेको जग्गामा रिभर्स बोर्डिङ सहितको भूमिगत पार्किङबारे उल्लेख गरिएको यो बुँदा पूर्ण रुपमा हटाउन प्रस्ताव गर्दछु । किनभने यो क्षेत्र काठमाडौंको नेचुरल पानीको भण्डारण क्षेत्र भनी पूर्वजहरूले भन्दै आएको भएर सो क्षेत्रमा रिभर्स बोर्डिङ गरी भूमिगत पार्किङ गर्दा हाल भएको पानीको नेचुरल स्रोत घट्ने सम्भावना बढी हुनेछ ।’

तर उहाँले राख्नुभएको यो प्रस्तावलाई मेयर साहले सुने नसुने झैँ गर्नुभयो । अब पुसमा बस्ने नगर परिषद्को बैठकमा आफ्नो यो प्रस्तावलाई पुनः अगाडि बढाउने तयारी अध्यक्ष महर्जनले गर्नुभएको छ ।

आर्किटेक्ट्स् संघको आपत्ति

यही क्रममा सोसाइटी अफ नेप्लिज् आर्किटेक्ट्स् (सोना) ले पनि एक विज्ञप्ति जारी गरी खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाप्रति आपत्ति प्रकट गरेको छ । सोसाइटीद्वारा जारी अध्यक्ष राजेश थापा र महासचिव अपिल केसीद्वारा हस्तारित विज्ञप्तिमा खुलामञ्च जस्तो खुल्ला ठाउँमा तीन तल्लासम्म खाल्डो खनी कुनै संरचना बनाउँदा यसले नगरको भूमिगत पानीको तहलाई पूरै खलबल्याइदिने खतरा उल्लेख गरिएको छ ।

पहिले सञ्चय कोषको भवन बनाउँदा सुन्धाराको पानी रोकिएको उदाहरण अघि सार्दै विज्ञप्तिमा भनिएको छ, ‘अहिले खुलामञ्चमा बनाउन लागिएको पार्किङले पनि त्यस्तै समस्या ल्याउनेछ ।’

काठमाडौंमा यातायातसम्बन्धी राज्यको गलत नीतिले गर्दा यातायात अस्तव्यस्त हुन पुगेको भन्दै यदि यस्ता ठूला पार्किङहरु बनाउँदै जाने हो भने राज्यको यातायातसम्बन्धी गलत नीति पनि प्रोत्साहित हुँदै जाने कुरा पनि विज्ञप्तिमा उल्लेख छ । राज्यले निजी सवारी साधनलाई प्राथमिकता दिनुको सट्टा सार्वजनिक सवारी साधनको प्रयोगलाई प्रोत्साहन दिनुपर्ने सुझाव पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संसारको हरेक शहरको बीचमा यस्तो खुल्ला ठाउँ राखिएको हुन्छ । विपद्का बेला यसको ठूलो उपयोगिता रहन्छ । तर त्यहाँ पार्किङ बनाउँदा मानिसहरूले त्यस्तो तीन तले कंक्रिट संरचनामा बसेर आफूलाई सुरक्षित महसुस गर्न सक्दैन ।’

अभियन्ताहरूको आरोप

खुलामञ्चमा यस प्रकारको पार्किङ बनाउनु हुन्न भनेर यति धेरै विरोध भइसक्दा पनि मेयर साह आफ्नो निर्णयबाट एक कदम पनि पछि नहटेकोमा सम्पदा अभियन्ताहरूले आश्चर्य प्रकट गरेका छन् ।

खुल्ला टुँडिखेलका अभियन्ता आलोकसिद्धि तुलाधरले भन्नुभयो, ‘मेयर साब किन यसको पछि लागेको लाग्यै हुनुभयो थाहा हुन सकेन ।’

संसारका अन्य देशहरूमा पनि खुल्ला स्थान मासेर यस्तो पार्किङ बनाएको उदाहरण रहेको बताउँदै उहाँले अहिले ती देशहरू आफूले पहिले गरेका कामका लागि पछुताइरहेको सुनाउनुभयो । उहाँले प्रश्न राख्नुभयो, ‘अब हामीले ती देशहरूले पनि पार्किङ बनाएका छन् भनेर त्यसबाट शिक्षा लिने कि पार्किङ बनाएर उनीहरू पछुताएकोबाट शिक्षा लिने ? के हामी पनि अहिले पार्किङ बनाएर भविष्यमा उनीहरू जस्तै पछुताएर बस्ने ?’

अभियन्ता गणपतिलाल श्रेष्ठ भन्नुहुन्छ, ‘अहिले पार्किङ बनाउन खोजिएको टुँडिखेल सरकारी जग्गा होइन । यो सार्वजनिक जग्गा हो । सार्वजनिक जग्गामा महानगरपालिकाले संरक्षण मात्रै गर्न पाइन्छ, आफूखुशी निर्माण गर्न पाइँदैन ।’

त्यस्तै अर्का अभियन्ता गणपतिलाल श्रेष्ठ भन्नुहुन्छ, ‘अहिले पार्किङ बनाउन खोजिएको टुँडिखेल सरकारी जग्गा होइन । यो सार्वजनिक जग्गा हो । सार्वजनिक जग्गामा महानगरपालिकाले संरक्षण मात्रै गर्न पाइन्छ, आफूखुशी निर्माण गर्न पाइँदैन ।’

यो पार्किङ निर्माणले काठमाडौंको हिति प्रणालीलाई पूरै ध्वस्त बनाउने र त्यसले हजारौं वर्षदेखिको पानी सम्बन्धी सम्पदा नष्ट गर्ने भएकोले यो पार्किङ निर्माणलाई कुनै पनि अवस्थामा रोक्नुपर्ने उहाँले बताउनुभयो ।

विकल्प धेरै छन

काठमाडौंमा अहिले जुन खाले यातायात अस्तव्यस्तता छाएको छ, त्यसलाई पार्किङ मात्र बनाएर समाधान गर्न सकिँदैन । विज्ञहरुका अनुसार पार्किङले त्यसलाई केही समयको लागि सहज बनाइदिने मात्रै हो । यसको लागि खुलामञ्च नै मासेर पार्किङ बनाउन आवश्यक नहुने उनीहरूको सुझाव छ ।

अहिले निर्माणाधीन धरहरा क्षेत्रमा करिब ६०० सवारी साधन अट्ने पार्किङ बनाइँदैछ । त्यस्तै खुलामञ्च नजिकै पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं टावरमा पनि ठूलो पार्किङको व्यवस्था गरिँदैछ । उता नेपाल वायुसेवा निगमको खुल्ला स्थानलाई पनि पार्किङकै लागि प्रयोग गर्ने नीति बनाइँदैछ भने काठमाडौं महानगरपालिकाले टेकूमा पनि बहुतले पार्किङ भवन निर्माण गरिरहेको छ ।

काठमाडौंमा पार्किङको लागि यति धेरै विकल्पहरू हुँदाहुँदै पनि पर्यावरणीय, सांस्कृतिक, सामाजिक दृष्टिले महत्वपूर्ण मानिएको खुलामञ्च नै मास्ने योजना सहित कामपाका मेयर बालेन साह अघि बढिरहेकाले यसको पछाडि उहाँको के स्वार्थ लुकेको छ भन्ने विषयमा पनि सर्वसाधारणले खोजी गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *