धनपतिले देखाउन खोजेको बाटो
काठमाडौँ । वधशाला बाट डेब्यु गरेका भए पनि खगेन्द्र लामिछानेलाई उचाइमा भने दुई फिल्मले पुर्यायो । ‘टलकजंग भर्सेस टुल्के’ मा टुल्केको मुख्य चरित्रमा देखिएका खगेन्द्र लगत्तै ‘पशुपतिप्रसाद’ मा पनि शीर्ष भूमिकामा दर्शकसमक्ष आए । फिल्मसँगै उनको कामको पनि चौतर्फी प्रशंसा भयो । एक सामान्य युवकको भूमिकालाई पनि उनले उचाइ दिए ।
यति बेला फिल्म ‘धनपति’ मा पनि केन्द्रीय भूमिकामा नै देखिन लागेका खगेन्द्रकै कारण पनि प्रतीक्षित बनेको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको उक्त फिल्मको आइतबार फस्टलुक पोष्टर सार्वजनिक भएको छ । जसमा खगेन्द्र साइकलमा सवार छन् भने उनको साइकलको अगाडि एक बच्ची र पछाडि क्यारिअरमा युवती बसेका छन् । फिल्ममा बच्ची खगेन्द्रकी छोरीको भूमिकामा रहेकी छन् भने युवती सुरक्षा पन्त पत्नीको भूमिकामा छिन् । खगेन्द्र ढाका टोपी र सामान्य लवाइमा पनि परिवारसँग खुसी देखिन्छन् ।
आफूप्रतिको दर्शक अपेक्षालाई सम्बोधन गर्दै खगेन्द्रले भनेका छन्, ‘‘पशुपति प्रसाद’ हेरिसक्नु भएका दर्शकले मबाट अलि बढी अपेक्षा राख्नुलाई म स्वभाविक रूपमा लिन्छु । मलाई विश्वास छ, दर्शकको त्यो अपेक्षालाई ‘धनपति’ ले पूरा गर्नेछ ।’ राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपति द्वन्द्वको चपेटामा परी तराईबाट राजधानी आएर जीवन संघर्ष गरिरहेको हुन्छ । सामान्य एक रेस्टुरेन्टमा काम गर्दै परिवार पालिरहेको धनपतिलाई आइपर्ने राष्ट्रिय समस्याले कसरी बाटो बदल्न बाध्य पार्छ भन्ने फिल्ममा देखाउन खोजिएको छ ।
बैशाख २५ गते ।