भिसा दुरुपयोग र शङ्कास्पद गतिविधिमा संलग्न एक जापानी नागरिक अध्यागमनको नियन्त्रणमा
काठमाडौँ, ४ जेठ । भिसाको उद्देश्यविपरीत नेपालमा बसेर शङ्कास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा अध्यागमन विभागले एक जापानी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
ती नागरिक सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए। विभागका अनुसार उनले विगत छ वर्षदेखि आवश्यक अनुमति नलिई गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गर्दै आएका थिए। नेपाली महिलासँग विवाह गरेका र नेपाली भाषा प्रष्टसँग बोल्न सक्ने उनले पोखरा महानगरपालिकामा व्यवसाय दर्ता गरे तापनि सरकारलाई बुझाउनुपर्ने कर नतिरेको पाइएको छ।
उनले पोखराको पुम्दी भुम्दीमा ‘पिस अफ माइन्ड रेस्टुरेन्ट क्याफे’ सञ्चालन गरेका थिए भने विगत चार वर्षदेखि ललितपुरको झम्सिखेलमा समेत दर्ता विना नै कफी सप सञ्चालन गरिरहेको विभागले जनाएको छ । सरकारी प्रक्रिया पूरा नगरी र व्यवसाय स्थानान्तरण नगरी उनले अवैध रूपमा कार्य गरिरहेको अनुसन्धानबाट खुलेको छ ।
नेपालको विद्यमान कानुन अनुसार पर्यटक भिसामा रहेका विदेशी नागरिकले व्यवसाय सञ्चालन गर्न ‘व्यावसायिक भिसा’ वा रोजगारीका लागि ‘वर्किङ भिसा’ लिनु अनिवार्य हुन्छ। भिसाको सर्त र उद्देश्यविपरीत कार्य गर्ने विदेशीलाई अध्यागमन विभागका महानिर्देशकले ५० हजार रुपियाँसम्म जरिवाना गर्ने तथा नेपाल पुनः प्रवेश गर्न नपाउने गरी देश निकाला गर्न सक्ने कानुनी व्यवस्था छ।
नियन्त्रणमा लिइएका जापानी नागरिकको नाम विभागले गोप्य राखेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको र कानुन बमोजिम कडा कारबाही गरिने विभागले जानकारी दिएको छ।