वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्ज (पर्सा), ४ जेठ । औद्योगिक तथा व्यापारिक नगरी पर्सामा १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जले यहाँका २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ६१ प्रतिशत मात्रै आर्थिक गणना भएको जनाएको हो ।
तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जका प्रमुख पुस्कर बिजुक्छेले पर्सामा रहेका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनामा अपेक्षाकृत ढङ्गले सहयोग नगरेका गुनासो गर्नुभयो । उहाँले वीरगञ्जका केही प्रतिष्ठानमा सडक विस्तारको क्रममा असर पारेकाले तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको बताउनुभयो । “जिल्लामा ६६ जना गणक आर्थिक गणनाका लागि खटिनुभएको छ ।
प्रतिष्ठानहरूले आवश्यक समन्वय गरेर तथ्याङ्क उपलब्ध नगराउँदा भने तथ्याङ्क प्राप्तिमा समस्या भइरहेको छ”, प्रमुख बिजुक्छेले भन्नुभयो, “यही जेठ ७ गते समीक्षा बैंठक राखेर तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानको सूची बनाएर आवश्यक निर्णय लिइनेछ ।” पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आर्थिक गणनामा तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानको सूची पठाउनका लागि अनुरोध गर्नुभयो । “सरकारले सुरु गरेको आर्थिक गणनामा सबै औद्योगिक तथा प्रतिष्ठानले आवश्यक तथ्याङ्क उपलब्ध गराउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “आर्थिक गणकलाई आवश्यक तथ्याङ्क उपलब्ध नगराउनेहाई कानुन बमोजिम आवश्यक कदम चालिनेछ ।”
राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय पर्साले गणना कर्मचारीहरू खटाएर विसं २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म प्रत्येक उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक अन्य विभिन्न प्रकारका सङ्घसंस्था तथा कार्यालय, प्रतिष्ठानहरूमा तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
प्रजिअ दाहालले आ-आफ्नो प्रतिष्ठानका क्रियाकलापसम्बन्धी सत्य, तथ्य विवरण उपलब्ध गराई राष्ट्रिय आर्थिक गणना, २०८२ सफल पार्नका लागि आवश्यक सहयोग र समन्वय गरिदिन सबैसँग अनुरोध गर्नुुभयो । “यो राष्ट्रव्यापी कार्यमा स्थानीय तह, उद्योग वाणिज्य सङ्घलगायत सबै सरोकार भएका निकायलाई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो, “तपाईंहरूले उपलब्ध गराउने विवरण कर प्रयोजन वा
अन्य कुनै पनि निकायमा प्रमाणका रूपमा पेस नगरिने र तपाईंहरूले दिनुभएको विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य रहने कानुनी व्यवस्था छ । अतः ढुक्क भएर आफ्नो व्यवसाय र प्रतिष्ठानको सही र पूर्ण विवरण दिनुहुन सबै सरोकार भएका निकायमा अनुरोध गरिन्छ ।” यहाँ आर्थिक गणना सुपरीवेक्षणको लागि नौ जना गणक खटिएका छन् ।
प्रशासनले प्रतिष्ठान र व्यवसायको जानकारीले देशको आर्थिक नीति निर्माण र आर्थिक योजना तर्जुमा कार्यमा ठूलो सहयोग पुग्ने जनाएको छ । आर्थिक गणनामा दर्ता भएका वा नभएका, स्थायी वा अस्थायी सबै प्रकारका आर्थिक गतिविधि गर्ने प्रतिष्ठान र व्यवसायले यो गणनामा भाग लिन सक्ने बताइएको छ ।