जनता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

सुर्खेत, १२ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनता गठबन्धनको तमासा हेरिरहेकाे बताएका छन् ।

उपाध्यक्ष पौडेलले आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत लिए पनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेकाे बताएका हुन् ।

‘प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत त पाउनुभयो तर आजसम्म मन्त्रिपरिषद बिस्तार गर्न सक्नुभएको छैन,’ उनले भने, सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री चर्को समस्यामा पर्नुभएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अहिलेको गठबन्धनबाट देशको भविष्य नरहेको बताए । उनले भने, ‘सरकारलाई आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा ध्यान छैन। पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ। जनता र हामी यो गठबन्धनको तमासा हेरिरहेका छौं।’

उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।