एसईई परीक्षा

बारामा केन्द्राध्यक्षसहित ४ जना निलम्बित, फेसबुकबाट प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थीकाे आजको परीक्षा रद्द

बारा, १७ चैत्र । बारामा एसईईकाे प्रश्नपत्र बाहिरिएपछि भएकाे छानबिनमा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् ।

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्ष सहित ४ जनालाई निलम्बन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरिक्षक कुन्दनप्रसाद कुशवाहा, श्याम किशोर गुप्तालाई निलम्बन गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने एक विद्यार्थीकाे आजकाे परीक्षा मात्रै रद्द गरिएको छ ।

विद्यार्थी पवन साहले परिक्षा चलिरहेकाे समयमा प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

प्रश्नपत्र बाहिर ल्याउने विद्यार्थी पवन साहले गल्ती स्वीकार गरेकाले भविष्य बिग्रन नदिन आजको परीक्षा रद्द भएपनि भोलिको परीक्षामा सहभागी हुन दिने निर्णय भएकाे जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख श्यामकिशोरप्रसाद यादवले बताए ।

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।