राष्ट्रिय इलेक्ट्रिक कोड निर्माणमा प्राधिकरणलाई सीनले सघाउने : ई. दिल्लीरत्न शाक्य, अध्यक्ष, सीन
काठमाडौं, २६ चैत । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स एसोसियसन(सीन) अध्यक्ष एवं विद्युत प्राधिकरणका पूर्व प्रबन्धक ईन्जीनीयर दिल्लीरत्न शाक्यले राष्ट्रिय इलेक्ट्रिक कोड निर्माणमा प्राधिकरणलाई सीनले सघाउने बताउनु भयो । यस्तै विद्युतबाट हुने दुर्घटना न्युनीकरणका लागि जनचेतना अभिबृद्धि गर्ने लक्ष्य राखि गरिएको यो प्रभात फेरि कार्यक्रम महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले यस्तो कार्यक्रम कोरोनाको कहर पछि रोकिएको तर अहिले फेरि जनचेतना अभिबृद्धि गर्ने खालका विभिन्न कार्यक्रमहरु सीनले आयोजना गर्नेक्रममा आजको दिन विद्युतीय सुरक्षा दिवस मनाउने सन्दर्भमा विगतमा जस्तै विद्युतबाट हुने दुर्घटना न्यूनिकरणका लागि जनचृतना अभिबृद्धि गर्न प्रभात फेरि आयोजना गरिएको बताउनु भयो ।
प्रभातफेरि पछि आयोजना गरिएको कार्यक्रममा सीनका विज्ञ इन्जीनीयरहरु सदैव नेपाल विद्युत प्राधिकरणसँग मिलेर राष्ट्रको लागि योगदान दिन तयार रहेको र संधै नेपाल सरकारलाई विभिन्न तवरले साथ दिंदै आएको पनि ई. शाक्यले बताउनु भयो ।
प्रभातफेरि कार्यक्रममा करीब पाँचसय इेलेक्ट्रीकल इन्जीनीयरहरुको सहभागीता रहेको ई. शाक्यले बताउनु भयो । ।
यस्तै सीनका उपाध्यक्ष ईन्जीनीयर तीर्थमान शाक्यले विद्युतको सवालमा गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिंदै विद्युतीय उपकरणका साथै कार्यदक्षताको गुणस्तरमा पनि ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
विद्युतीय सुरक्षा दिवसको अवसरमा विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स एसोसियसन नेपाल (सीन) ले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिनुभएको हो ।
प्राधिकरणले विद्युतको पोलमा चढ्ने कर्मचारी तथा विद्युत मर्मतसम्भारमा अग्रपंतिमा खटिने कर्मचारीहरूका लागि हेलमेट, पोशाकलगायत ३ हजार थान सुरक्षा उपकरणहरूको प्रबन्ध गरिसकेको जिकिर गर्नु भयो ।
कार्यक्रममा उहाँले प्राधिकरणभित्र विद्युतीय सुरक्षालाई प्राथमिकता दिँदै संरचनामा धेरै सुधार गरिसकेको जानकारी दिनुभयो । उहाँले देशभरि नै नांगो तारलाई हटाएर प्लाष्टिक जडित इन्सुलेटेड तार राख्ने अभियान शुरु भैसकेको जानकारी पनि दिनुभयो ।
प्राधिकरणका सहायक प्रबन्धक ई. सागरमणी ज्ञावलीले विद्युत दुर्घटनालाई न्युनिकरण गर्न राष्ट्रिय इलेक्ट्रिक कोड निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
अमेरिकामा मृत्युको ६ वटा प्रमुख कारणमध्ये विद्युतीय दुर्घटना पनि एक भएको जानकारी दिंदै प्राध्यापक जगन्नाथ श्रेष्ठले भन्नुभयो– ‘अमेरिकामा प्रत्येक वर्ष विद्युत दुर्घटनामा परेर ३० हजार हाराहारीमा घाइते हुने र तीमध्ये एक हजार जनाको मृत्य हुने गरेको तथ्यांकले देखाएको छ ।
त्यस्तै भारतको ठूलो अस्पतालहरूमा सन् २०१२ देखि २०१६ सम्म गरिएको एक अध्ययनअनुसार त्यो अवधिमा अस्पतालमा भर्ना हुन आएका विरामीमध्ये ८८ प्रतिशत विद्युत दुर्घटनाका शिकार थिए। त्यसैले विद्युत उपभोगमा सावधानी जरुरी छ ।’
यसअघि आइतबार बिहान सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन)ले नेपाल विद्युत प्राधिकरणसँगको संयुक्त आयोजनामा
‘विद्युत दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने नाराका साथ राजधानीमा प्रभातफेरीको आयोजना गर्यो। विद्युत दुर्घटनाबारे जनचेतना जगाउने उद्देश्यले आयोजित प्रभातफेरी रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्राङ्गणबाट शुरु भई भद्रकाली, न्युरोड, भोटाहिटी हुँदै पुनः प्राधिकरणमै पुगेर सभामा परिणत भएको थियो ।