इजरायल र लेबनानबीच युद्धविरामको सहमति, हिजबुल्लाहको आक्रमण जारी रहँदा कार्यान्वयनमा आशंका
एजेन्सी, २१ जेठ । अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान बुधबार युद्धविराम लागू गर्न सहमत भएका छन्। यद्यपि, इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले गोलाबारीको ‘पूर्ण समाप्ति’ विना कुनै पनि सहमति कार्यान्वयन नहुने अडान राखेपछि सम्झौताको व्यावहारिक कार्यान्वयनमाथि आशंका उब्जिएको छ।
दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि वासिङ्टन वार्ताका क्रममा सीमा क्षेत्रमा ‘पाइलट जोन’ स्थापना गर्ने सहमति भएको छ। सो क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर–राज्य सशस्त्र समूहहरूलाई हटाउँदै सुरक्षा नियन्त्रण लिने बताइएको छ। तर, युद्धविरामको घोषणा लगत्तै सीमावर्ती क्षेत्रमा झडप र हवाई आक्रमणहरू तीव्र भएका छन्। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने हिजबुल्लाहले उत्तरी इजरायलका सैनिक स्थानहरूलाई निसाना बनाएर क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लेबनानको द्वन्द्व र इरानसँगको तनावलाई फरक–फरक ढङ्गले सम्बोधन गरिनुपर्ने धारणा राख्नुभएको छ। उता, इरानका विदेशमन्त्री अब्बास अराघचीले भने यी सबै घटनाक्रमहरू आपसमा जोडिएको दाबी गर्दै बेरुतमा कुनै पनि आक्रमण भएमा युद्ध पुनः पूर्ण रूपमा सुरु हुने चेतावनी दिनुभएको छ। हिजबुल्लाहका वरिष्ठ अधिकारी महमुद कोमातीले आफ्नो समूहले कुनै पनि प्रकारको ‘आंशिक युद्धविराम’ स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ।
द्वन्द्वका कारण मानवीय क्षति तीव्र रूपमा बढिरहेको छ। दक्षिणी लेबनानको टायर सहर नजिक भएको इजरायली आक्रमणमा चार सिरियाली र दुई प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। यसैगरी, उद्धार कार्यमा खटिएका एम्बुलेन्सहरूमाथि भएका आक्रमणहरूमा थप तीन जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी) को ज्यान गएको छ। द्वन्द्व सुरु भएयता लेबनानमा कम्तीमा १३० जना आपतकालीन तथा स्वास्थ्यकर्मीहरूको मृत्यु भइसकेको छ।
लेबनानी सेनाले पनि इजरायली आक्रमणमा आफ्ना एक सैनिकको मृत्यु भएको पुष्टि गर्दै राष्ट्रिय सेनामाथि भएका योजनाबद्ध आक्रमणको कडा निन्दा गरेको छ।
दुवै पक्ष आगामी जुन २२ को हप्तामा पुनः वार्तामा बस्न सहमत भएका छन्। गत मार्च २ देखि सुरु भएको यस द्वन्द्वलाई दीर्घकालीन रूपमा टुङ्ग्याउन र व्यापक शान्ति सम्झौतामा पुग्न आगामी चरणको वार्ता महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।