बागलुङको काठेखोलामा खानेपानी अभाव

बागलुङ, ३० चैत्र । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ ।

धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानीकाे अभाव भएकाे हाे ।

भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन । धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनिको मूलबाट खानेपानी ल्याइए पनि उक्त आयोजना एक महिनासमेत टिक्न सकेन ।

प्राविधिक त्रुटिका कारण सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनको एक महिनामै बिग्रिएपछि पुनः खानेपानीको अभाव भएको स्थानीय प्रेमश्वरी श्रेष्ठले बताउनुभयो । “सोलार लिफ्ट आयोजना सञ्चालनको एक महिनामै बिग्रियो” उहाँले भन्नुभयो । रु १४ लाखको लागतमा योजना सम्पन्न भएको हो । देउरालीका सबै घरमा खानेपानीका धारा छन्, तर पानी छैन ।

काठेखोला गाउँपालिकाले दुई वर्षअघि देउरालीमा खानेपानीको अभाव टार्न सोलार लिफ्ट खानेपानी आयोजना निर्माण गरेको हो । योजना सञ्चालनमा आउन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताउनुभयो ।

लिफ्ट आयोजना मर्मत गर्न पहल भइरहेको उहाँको भनाइ छ । अहिले देउरालीमा असौजे र कालठुटेको मूलबाट आएको पानी दुईवटा ट्याङ्कीमा जम्मा गरेर घर–घरमा वितरण भइरहेको छ । बर्खामा खानेपानी पुग्ने भए पनि हिउँदयाममा अभाव हुने गरेकाे छ ।