उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी, भने आगलागीमा परेका कुनै पनि नेपालीले मर्नु नपरोस्
काठमाडौं, १७ वैशाख। सांसद चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि आइतबार स्वदेश फर्किनुभएकाे छ ।
गत फागुन ३ गते बुद्धनगरस्थित काेठामा ग्यास चुहिएर भएको आगलागीमा जलेर सख्त घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी भारतमा साढे दुई महिना उपचारपछि स्वदेश फर्किनुभएकाे हाे ।
साेही आगलागीमा परी भण्डारीका आमाको त्यतिखेरै निधन भएको थियो । सांसद भण्डारीले आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएकाे छ । साथै उहाँले नेपालमा आगलागीबाट हुने घटना कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने घोषणा पनि गर्नुभएकाे छ ।
‘कुनै नेपालीले आगोमा जल्नुनपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’ भण्डारीले स्वदेश फर्केपछि जारी गरेको प्रेस नोटमा भन्नुभएकाे छ ।’