नेपाल कृषिप्रधान देश भएकैले नाकाबन्दीले गलाउन सकेन : अध्यक्ष ओली
काठमाडौं, असार । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिप्रधान देश भएकैले नाकाबन्दीले गलाउन नसकेकाे बताउनुभएकाे छ ।
आज बिहान चितवनमा राष्ट्रिय धान दिवसका अवसरमा पुग्नुभएकाे उहाँले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘हामीलाई पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो देश कृषिप्रधान देश हो, कृषिप्रधान देश भएको हुनाले नाकाबन्दीजस्तो चिजमा पनि, जो हामी प्रायः सबै चिज बाहिरबाट ल्याउँछौँ। हामीलाई खान पुग्ने झन्डै झन्डै अन्न यहीँ उत्पादन हुन्छ । सब्जी यहीँ उत्पादन हुन्छ, फलफूल, माछामासु, दूध । त्यसैले त्यस नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन’ ।
अध्यक्ष ओलीले कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्ने र उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधिकरण गर्नुपर्ने बताउनुभएकाे छ ।
चितवनकाे गेस्टहाउस चौरदेखि चौबीसकोठीसम्म भएकाे र्याली सभामा परिणत भएकाे थियाे । र्यालीमा अध्यक्ष ओली र उहाँका पत्नी राधिका शाक्य समेत सहभागी हुनुभएकाे थियाे ।