टिपरकाे ठक्करबाट इटहरीमा स्कुटरमा सवार आमाको मृत्यु, छोरी गम्भीर घाइते
सुनसरी, २० असार । सुनसरीको इटहरीमा टिपरकाे ठक्करबाट स्कुटरमा सवार आमाको मृत्यु भएकाे छ भने छोरी गम्भीर घाइते भएकी छन् ।
आमा-छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिँदा आमाको घटनास्थलमै मृत्यु भएको हाे । कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरमा सवार आमाछोरीलाई इटहरी चोकमा ठक्कर दिएको थियो।
ठक्करबाट इटहरी–८ गैसारकी ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने चौधरीका २२ वर्षीया छोरी अंशु गम्भीर घाइते भएकाे सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयबासीले ठक्करबाट घाइते भएकी सरितालाई चालकले ब्याक गरेर किचेको आरोप लगाएका छन्। स्थानीयबासीले दुर्घटना गराएकाे टिपर तोडफोड गरेका थिए। तोडफोड पछि घटनास्थल तनावग्रस्त बनेकाे थियाे ।
त्यसक्रममा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ३ गरी नौ जना सुरक्षाकर्मी घाइते भएको एसपी ढकालले जानकारी दिए । प्रहरीले टिपर चालक सर्लाही ईश्वरपुरका २७ वर्षीय बलबहादुर बम्जनलाई नियन्त्रणमा लिएको छ।