अदालतले दियाे बल्छी ध्रुवे, राजु मास्टरसहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
काठमाडौं, २७ असार । अदालतले वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ गरेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
अनलाइन सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे । जिल्ला अदालत काठमाडौंले आदेश दिएसँगै कलाकारहरुलाई आजै छाडिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी सीताराम रिजालले बताए ।
उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे, राजुमास्टर, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पक्राउ गरेको थियो ।
उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।