पर्वतमा जिप दुर्घटना, एक जनाकाे मृत्यु, ११ जना घाइते

पर्वत, ३१ असार । पर्वतको कुश्मामा शनिबार राति भएको जिप दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले बताउनुभएकाे छ ।

दुर्घटनामा परी घाइते भएका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन् ।