सम्बन्धबिच्छेद गर्ने बढे

पाल्पा, २२ साउन । विवाहित जोडीबीच आपसी सम्बन्ध राम्रो हुन नसक्दा पाल्पा जिल्लामा सम्बन्धबिच्छेद गर्नेको सङ्ख्या बर्सेनि बढेको छ ।

पारिवारिक बेमेलका कारण बर्सेनि श्रीमान् श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढेका हुन् ।

वैदेशिक रोजगार, सामाजिक सञ्जाल, विद्युतीय सञ्चारमाध्यम र विदेशी संस्कृतिको प्रभाव, महिला अधिकार, सम्पत्ति, घरेलु हिंसालगायतले नेपाली समाजमा सम्बन्धबिच्छेदका प्रमुख कारण बन्दै आएको छ ।

जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा बर्सेनि सम्बन्धबिच्छेदका घटना समेत बढेका हुन् । अशिक्षित परिवारभन्दा पनि शिक्षित परिवारका विवाहित युगल जोडी छिटो सम्बन्धबिच्छेद गरी स्वतन्त्र रहने निहँु बनाउँदै अदालतसम्म आएका हुन् ।

जिल्ला अदालत पाल्पाका अनुसार अघिल्लो वर्ष २०७२÷०७३ मा १०२ जोडीले सम्बन्धबिच्छेदका उजुरी दर्ता भएका थिए । अदालतले ती सबै उजुरीको फैसला गरिसकेको जनाएको छ ।

अदालतले एकपटक सम्बन्धबिच्छेदका लागि उजुरी गर्नेलाई बालबच्चा र परिवारमा समस्या आउन सक्ने भन्दै सम्झाए पनि महिला बढी मात्रामा सम्बन्धबिच्छेद गर्न रुचाउने गर्दछन् । सम्बन्धबिच्छेद गर्नेमा २० देखि ४० बीचका महिला पुरुष बढी छन् ।

आव २०७१÷०७२ को तुलनामा अघिल्लो आवमा सम्बन्धबिच्छेदका घटना पाल्पामा बर्सेनि बढेको अदालतले जनाएको छ । साना बालबालिका रहेका आमा बुबाले सम्बन्धबिच्छेद गर्दा बालबालिका मानसिक समस्या समेत देखिन थालेको महिला अधिकारकर्मीले बताउँदै आएका छन् ।

सम्बन्धबिच्छेद अधिकांश विदेशमा श्रीमान् रहेका श्रीमतीका उजुरी बढी अदालतमा आउने गर्दछ । पाल्पामा अधिकांश महिलाले साना बालबालिका बोकेर अदालतमा सम्बन्धबिच्छेद गर्न आउने गरेको अदालतका श्रेस्तेदार सुवर्ण खनालले बताउनुभयो ।

अघिल्लो आवमा एक जना पुरुषले मात्र सम्बन्धबिच्छेद गर्न उजुरी गरेकामा अन्य सबै महिलाको उजुरी परेको हो । सम्बन्धबिच्छेद गरेपछि यहाँका महिलाले सम्पत्ति प्राप्ति गरी विदेश पलायन हुने र अर्कोसँग विवाह गर्ने समेत देखिएको हो । रासस