आन्तरिक मामिलामा हस्तक्षेप नगरौँ : नेता नेपाल

पर्सा, २८ साउन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा छिमेकी देशले हस्तक्षेप गर्नु नहुने बताउनुभएको छ ।

नेकपा (एमाले) निकट लोकतान्त्रिक मधेसी सङ्गठन, पर्साले आज वीरगन्जमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता नेपालले दलहरूबीच रहेको मनमुटाव देशभित्रै समाधान गर्नुको सट्टा विदेशीलाई गुहार्दा देशकै बेइज्जती हुने बताउनुभयो ।

उहाँले जनताको हितमा काम गर्दा पार्टीको साख बलियो हुने र विदेशीलाई गुहार्दा देशको सम्मान घटनुको साथै पार्टीहरूप्रति जनतामा वितृष्णा हुने भएकाले विदेशी गुहार्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभयो ।

उहाँले एमाले पार्टीलाई मधेसविरोधी भएको प्रचार गरी जनतालाई गुमराह गरिने काम भएकाले त्यस्ता भ्रममा नपरी जनताको अधिकारका लागि सङ्घर्ष गर्ने पार्टीले जनविरोधी काम नगर्ने दाबी गर्नुभयो ।

पोलिटब्युरो सदस्य एवम् लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुविर महासेठले मधेसी जनतासँग भएका विभेदलाई संविधान संशोधन गरी सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, नेता नेपालले आजै एमाले जिल्ला कमिटी पर्साले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा प्रा डा शम्भुप्रसाद पटेल र वबिता सिंहद्वारा लिखित ‘नर्सिङ रिसर्च एन्ड वायो स्टेटिक्स’ पुस्तकको विमोचन गर्नुभयो ।

सो अवसरमा नेता नेपालले शिक्षामा सबैको पहुँच पुयाउन नेपालको शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताउनुभयो ।