चैतेधान खेती प्रवर्धनका लागि तनहुँका किसानलाई ८५ प्रतिशत अनुदान

काठमाडौँ, बैशाख १८ । तनहुँमा लोप हुँदै गएको चैतेधान खेतीलाई पुनरुत्थान र विस्तार गर्न कृषि विकास कार्यालयले विशेष प्रवर्द्धन कार्यक्रम अघि सारेको छ । यस कार्यक्रमअन्तर्गत चैतेधान खेती गर्ने किसानहरूलाई बीउ तथा सिँचाइ पूर्वाधारमा ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको छ ।

पछिल्लो समय किसानहरूले चैतेधान लगाउन छाड्दै गएपछि कार्यालयले यसको संरक्षण र व्यावसायिक उत्पादनमा जोड दिएको हो । वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीका अनुसार, अनुदानको व्यवस्था भएपछि किसानहरू चैतेधान खेतीतर्फ उत्साहित भएका छन् । “हामीले चैतेधानको उन्नत बीउका साथै सिँचाइको असुविधा भएका स्थानमा कुलो निर्माणका लागि समेत अनुदान प्रदान गरेका छौँ,” अधिकारीले भन्नुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जिल्लाका विभिन्न स्थानमा गरी कुल ३ हजार ८०० रोपनी क्षेत्रफलमा चैतेधान लगाइएको छ । विशेष गरी व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा व्यावसायिक रूपमा चैतेधानखेतीको विस्तार गरिएको छ ।

खाद्य सुरक्षा र किसानको आयआर्जनमा टेवा पुऱ्याउने उद्देश्यले सञ्चालित यस कार्यक्रमले आगामी वर्षहरूमा चैतेधानको उत्पादकत्व अझ बढ्ने अपेक्षा गरिएको छ ।