‘रङ्को गीत’ चित्रकला प्रदर्शनी सुरु

काठमाडौँ, २४ भदौ । प्राज्ञ रमेश श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘रङ्हरुको गीत’ आजबाट राजधानीमा सुरु भएको छ ।
चित्रमा दैनिक जीवनका भोगाइ, शान्ति, देशको वर्तमान अवस्था, धर्म र नारीत्वका विषयलाई प्रस्तुत गरिएको छ ।
नेपाल कला परिषद्मा आयोजित प्रदर्शनी यही भदौ ३० गतेसम्म चल्नेछ । प्रदर्शनीमा ५५ वटा चित्र राखिएका छन् । चित्रकलाको उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठले चित्रलाई कवितामय बनाएको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “कलाकारले साहित्य, चित्रकला, नाट्य, गायन, प्रहसन, हास्यका रुपमा दर्शक र स्रोतालाई मनोरञ्जन र सन्देश दिएको हुन्छ ।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का कुलपति रागिनी उपाध्यायले श्रेष्ठका चित्रमा रङ्ग र गीतको समन्वय गरिएको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कला, साहित्य र सङ्गीतको समन्वय उत्तम हुने उल्लेख गर्नुभयो । नाफाका पूर्व कुलपति किरण मानन्धरले श्रेष्ठका चित्रकोबारेमा चर्चा गर्दै देशमा शान्तिको आवश्यकता झल्किएको, अहङ्कार, पीडा, समाजका विकृतिको झल्को चित्रकारले चित्रमा उतारेको बताउनुभयो ।
चित्रकार श्रेष्ठले प्रदर्शनीमा बिक्री भएका चित्रबाट उठेको रकम रोटरी क्लब अफ न्युरोडले सञ्चालन गरेको बालबालिकाको शिक्षाका लागि प्रदान गर्ने बताउनुभयो । नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी यही आगामी भदौ ३० गतेसम्म चल्नेछ ।