देश विदेशीको हातमा पुग्ने खतरा : बिजुक्छे

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताउनुभएको छ ।
भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको सत्तलको आज उदघाटन गर्दै उहाँँले ठूला दलले राजनीतिक स्वार्थ त्याग्न नसक्दा देशमा सङ्कट बढ्दै गएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले निर्माणलगायत विभिन्न क्षेत्रको जिम्मेवारी भारतलाई दिँदा नेपाल भारतको चङ्गुलमा फस्दै गएको आरोप लगाउँदै “पुँजीवादी दल विदेशी चङ्गुलमा फस्दै गएका थिए, अहिले सरकारमा सहभागी कम्युनिस्ट भन्ने दलले पनि समाजवाद छाडेर पुँजीवादतर्फ पलायन हुँदा देश झन् खतरामा परेको छ ।” भन्नुभयो ।
नेपाललाई खतरा हुने कुनै पनि सन्धि सम्झौता सरकारले गर्न नहुनेतर्फ औँल्याउँदै उहाँले दलले राजनीतिक स्वार्थ त्याग्नुपर्नेमा जोड दिनुभयो । बिभिन्न दाताबाट सङ्कलन भएको ३१ लाख २९ हजार ८३५ रुपैयाँको लागतमा सत्तल निर्माण भएको समितिले जानकारी दिएको छ ।
सिरु बौद्धिक समाजको अध्यक्षमा ध्रुवराज विष्ट सर्वसम्मतले चयन हुनुभएको छ । अनन्तलिङ्गेश्वर नगरपालिका सिरुटारस्थित समाजको १६औँ साधारणसभाले उपाध्यक्षद्वयमा राजकुमार श्रेष्ठ र रमन कायस्थ, सचिवमा सनोद थापा, कोषाध्यक्षमा गीताप्रसाद पोखरेल र सहसचिवमा शान्ति कायस्थलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यमा राजेन्द्र श्रेष्ठ, रामकृष्ण कार्की, खम्ब राई, भगवती थापा, नातिकाजी बस्नेत, नातिबाबु बुढाथोकी र रवीन्द्र थापा चयन भएका छन् ।