पाँच प्रदेशमा ‘भारी वर्षा’ को उच्च जोखिम, हवाई र सडक यातायात प्रभावित हुन सक्ने
काठमाडौँ, १ साउन । साउन महिनाको पहिलो दिन आज देशभर मनसुनी वायुको प्रभाव उच्च देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा पश्चिममा औसत स्थानभन्दा केही उत्तर र पूर्वमा औसत स्थान आसपास रहेकाले मुलुकका विभिन्न भागमा ‘भारी वर्षा’ सहितको मौसमी सक्रियता बढ्ने देखिएको छ।
हाल देशभर साधारणतया बदलीको अवस्था छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी भू-भागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा ‘भारी वर्षा’को प्रक्षेपण गरिएको छ। राति पनि वर्षाको क्रम निरन्तर रहने देखिन्छ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र कर्णालीका पहाडी भागमा ‘भारी वर्षा’ को उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना छ।
भारी वर्षाका कारण निम्तिन सक्ने सम्भावित प्रकोप र असरलाई मध्यनजर गर्दै महाशाखाले ‘विशेष बुलेटिन’ मार्फत सतर्क रहन आग्रह गरेको छ । पहाडी भू-भागमा गेग्रान बहाव, पहिरो र भू-क्षयको जोखिम छ। नदी तथा खोलाहरूमा जलस्तर बढेर आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ। त्यस्तै वर्षा र कम दृश्यताका कारण सडक यातायात र हवाई उडानहरू प्रभावित हुन सक्नेछन्।