‘सिरियल किलर’ ध्रुवे अब प्रविधिको फन्दामा : प्रत्येक १० मिनेटमा निकुञ्जलाई ‘लोकेशन अपडेट’

चितवन ।
चितवन निकुञ्जको घना जङ्गलमा एउटा यस्तो नाम छ, जसले सुन्नेबित्तिकै स्थानीयको मुटु काप्छ– ‘ध्रुवे’। २५ जनाको ज्यान लिइसकेको यो शक्तिशाली र उन्मत्त जङ्गली हात्ती अहिले निकुञ्ज प्रशासनको चौबीसै घण्टा चल्ने ‘हाइ-टेक’ निगरानीमा परेको छ।

विगत लामो समयदेखि निकुञ्ज सुरक्षाकर्मी र स्थानीयका लागि टाउको दुखाइ बनेको ध्रुवेलाई बिहीबार राति निकुञ्जको सुुखिभार क्षेत्रमा ‘डार्ट’ (नशालु औषधि प्रहार) गरी नियन्त्रणमा लिइयो । यो नियन्त्रण मात्र थिएन, ध्रुवेको हिंस्रक स्वभावलाई मत्थर पार्ने एउटा विशेष अपरेसन थियो ।

१०-१० मिनेटमा ‘लोकेशन’ अपडेट

ध्रुवे अब कहाँ छ? बस्तीतिर त जाँदै छैन? यी प्रश्नहरूको जवाफ पाउन अब गाह्रो छैन। उसको घाँटीमा अत्याधुनिक ‘रेडियो कलर’ जडान गरिएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रेडियो कलरले प्रत्येक १० मिनेटमा ध्रुर्वेको लोकेसन र गतिविधिका बारेमा निकुञ्जलाई सूचना पठाइरहेको छ ।

आज बिहानको अपडेट अनुसार, ध्रुर्वे कसराको दक्षिणतर्फ पर्ने तमोर ताल आसपासमा शान्त भएर बसेको छ । निकुञ्ज प्रशासनले उसको हरेक पाइलालाई कम्प्युटरको स्क्रिनमा पछ्याइरहेको छ ।

काटियो दाह्रा, दबाइयो हर्मोन

ध्रुर्वेको हिंस्रक शक्तिलाई कम गर्न प्राविधिक टोलीले यसपटक कडा कदम चालेको छ । उसको दुवैतिरका दाह्रा ६ इञ्चसम्म काटिएको छ । यसअघि पनि तीन पटक दाह्रा काटिए पनि यो चौथो पटकको ‘ट्रिमिङ’ हो । यति मात्र होइन, उसको उत्तेजना र रिस कम गर्न हर्मोन नियन्त्रण गर्ने विशेष औषधिसमेत चलाइएको छ।

२५ ज्यान लिने त्यो ‘आतङ्क’

ध्रुवेको इतिहास निकै डरलाग्दो छ । विसं २०६६ देखि सुरु भएको उसको आक्रमणको शृङ्खलाले अहिलेसम्म २५ जनाको ज्यान लिइसकेको छ। पछिल्लो पटक गत असार २० गते मात्रै उसले एकै परिवारका दुई सदस्यलाई सिध्याएको थियो ।

विसं २०७४ मा नेपाली सेनाका एक मेजरलाई समेत आक्रमण गरी मारेको यो हात्तीलाई मार्न २०६९ सालमै ‘किलिङ अर्डर’ दिइएको थियो । तर, सेनाको गोलीबाट समेत जोगिँदै आएको ध्रुवेलाई मार्नुभन्दा व्यवस्थापन गर्नु नै निकुञ्जका लागि चुनौतीपूर्ण रहँदै आएको छ ।

अब के हुन्छ?

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन भन्नुहुन्छ, “हामी अब कुनै पनि मानवीय क्षति हुन नदिन उच्च सतर्कतामा छौँ ।”

ध्रुवे बस्तीतिर लाग्नेबित्तिकै रेडियो कलरले सिग्नल दिनेछ । तत्कालै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन र स्थानीय टोललाई ‘अलर्ट’ गराइनेछ । निकुञ्जको गस्ती टोलीले उसलाई बस्ती छिर्नुअघि नै जङ्गलतर्फ धपाउने गरी तयारी गरिएको छ ।

चितवनमा ध्रुर्वे मात्र होइन, रोनाल्डो र गोविन्दे जस्ता भाले हात्तीहरू पनि छन्, जो निकुञ्जको ४५ देखि ५० वटा हात्तीको वंश विस्तारका लागि महत्त्वपूर्ण मानिन्छन् । तर, संरक्षण र सुरक्षाबीचको यो द्वन्द्वमा ध्रुर्वेलाई प्रविधिको ‘बाँध’ मा राख्नु नै अहिलेको सर्वोत्तम विकल्प देखिएको छ ।

अब प्रश्न एउटै छ, के रेडियो कलरको यो निगरानीले चितवनका बस्तीहरूलाई ध्रुवेको आतङ्कबाट सदाका लागि सुरक्षित राख्न सक्ला? निकुञ्जको टोली अहिले यसैको परीक्षणमा जुटेको छ ।