इन्द्रजात्राको लिङ्गो ढल्दा दुईजना गम्भीर घाइते, हवल्दार गुरुङको खुट्टा भाँचियो
काठमाडौँ । यस वर्षको इन्द्रजात्राका लागि हनुमानढोकामा लिङ्गो उठाउने क्रममा लिङ्गो ढलेर आज दुईजना घाइते भएका छन् ।
नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक स्थायी घर भई हाल चमती बस्ने पुष्प लामा गम्भीर घाइते हुनुभएको हो । हबल्दार गुरुङको खुट्टा भाँचिएर छाउनीस्थित सैनिक अस्पतालमा तथा लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहान शुभसाइतमा लिङ्गो उठाउन लाग्दा सो पल्टेर यस्तो घटना घटेको हो ।
यसैबीच,इन्द्रजात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ । हनुमानढोकमा आज ३२ फिटको लिङ्गो उठाएर इन्द्रध्वजा फहराएर जात्रा सुरु गरिएको हो ।
भक्तपुरको चित्तपोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको लिङ्गोलाई नेपाली सेना, सशस्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । उक्त लिङ्गो उठाउने क्रममा आज दुर्घटना भई काम रोकिएको केहीबेर पछि पुनः उठाइएको थियो ।
लिङ्गो उठाउँदा विशेष बाजागाजासहित गुर्जको पल्टनले तोप पड्काएको थियो । यही भदौ ३० गते काठमाडौँ उपत्यकामा इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा समेत दिइएको छ ।
काठमाडौँ उपत्यकामा मनाइने पर्वमध्ये सो जात्रा ठूलो पर्व हो । राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यत्तिबाट कुमारीको दर्शन पश्चात् गणेश, कुमारी र भैरवको रथयात्रा गरिन्छ । स्थानीय मजिपा लाखेले गणेश, भैरव र कुमारको रथ यात्रामा घुमाइने चलन छ ।
करिब एक सातासम्म सञ्चालन हुने सो जात्रामा काठमाडौँका विभिन्न स्थानमा भिन्न किसिमका लाखे नाच गरिन्छ ।
भदौ २८ गते ।