संविधान दिवसमा एमालेको आमसभा, संविधानको सफल कार्यान्वयनमा जोड

काठमाडौँ । नेकपा एमालेले संविधान दिवसका अवसरमा सोमबार देशव्यापी जुलुस प्रदर्शन तथा आमसभा गरेको छ । सोही अवसरमा राजधानीको वसन्तपुरमा आयोजत आमसभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले सम्बोधन गर्दै लामो संघर्षबाट प्राप्त संविधानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
संविधानले जनताको लामो समयदेखिको सपना पूरा गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दै एमालेले उत्सवका रुपमा कार्यक्रम आयोजना गरेको हो । र्यालीमा सहभागीले एमालेको झन्डाका साथै राष्ट्रिय झन्डा पनि प्रदर्शन गरेका छन् ।
संविधान दिवसका अवसरमा कार्यकर्ता र शुभेच्छुकलाई परिचालन गरी एमालेले रत्नपार्कबाट सुरु गरेको र्याली भोटाहिटी, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगी सभामा परिणत भएको थियो ।
पहिलो संविधान दिवसलाई सफल बनाउन एमालेले सम्पूर्ण पार्टीपंक्ति परिचालन गरेको छ । निर्धारित समयमा निर्वाचन गरी मुलुकको लोकतन्त्र र संविधानलाई कार्यान्वयन गर्नमा आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन सबैमा एमालेले विनम्र अपिल पनि गरेको छ ।
नेपाली जनताको बलिदानको जगमा निर्माण भएको नेपालको संविधानको रक्षा र कार्यान्वयनका लागि पार्टी दृढ रहेको स्पष्ट गरेको छ ।
संविधान बनाउनै नदिने, बनाए पनि जारी गर्न नदिने र जारी गरे पनि कार्यान्वयन गर्न नदिनेसम्मका प्रत्येक चलखेलका विरुद्ध हाम्रो पार्टी दृढतापूर्वक उभिएका कारण मुलुकले आज लोकतान्त्रिक संविधान पाएको छ ।” एमालेले भनेको छ ।
नेपालको संविधानले लोकतन्त्रका सर्वस्वीकार्य मान्यता, सामाजिक न्याय, राज्यमा सबै नागरिकको समान पहुँच, राज्यको अग्रगामी रुपान्तरण र अग्रगतिका आधारभूत सिद्धान्तलाई आत्मसात् गरेको जनाउँदै पार्टीले संविधान जारी गर्न निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति पार्टीले गौरवबोध गरेको एमालेले स्पष्ट गरेको छ ।
असोज ३ गते ।