परोपकार संस्थाले मनायो ७०औँ स्थापना दिवस

काठमाडौँ । नेपालकै जेठो सामाजिक संस्था परोपकार संस्थाले आफ्नो ७०औँ स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसाकारले सामाजिक क्षेत्रमा संस्थाले थुप्रै काम गरेको उल्लेख गर्दै संस्थाको नाममा रहेका अस्पताल र अनाथलयका जग्गा सरकारले आफूखुसी प्रयोग गर्ने गरेकोमा दुःख व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “ हामीसँग कुनै छलफल नै नगरी सरकारले थापाथलीमा रहेको परोपकार प्रसूतिगृहको ३५ रोपनी र दुवाकोट भक्तपुरमा रहेको संस्थाको ३२४ रोपनी जग्गा आफ्नो स्वामित्वमा लिएको छ ।”
दुवाकोटमा रहेको जमिनमा सरकारले वीर अस्पताल बिस्तार गर्ने निर्णय गरेको छ भने प्रसूतिगृह थापाथलीको ३५ रोपनी जग्गा अहिले पनि परोपकार संस्थाका नाममा नै रहेको अध्यक्ष कंशकारको दाबी छ ।
उहाँले भन्नुभयो, “सरकारले त्यसरी जग्गा लिए पनि परोपकार जस्तो सामाजिक संस्थालाई शोधभर्नास्वरुप मुआब्जा दिनुपर्छ, जसलेगर्दा संस्थाले अन्य स्थानमा सेवा विस्तार गर्न सक्छ ।” सरकारले संस्थालाई विगतमा दिइँदै आएको अनुदान रकमसमेत रोकिएकामा उहाँले दुःख व्यक्त गरेको छ ।
विसं २००४ मा नेपालका प्रथम रक्तदाता तथा समाजसेवी दयावीरसिंह कंसाकारले परोपकार संस्था स्थापना गर्नुभएको थियो । हाल यो संस्थाबाट परोपकार अनाथलय, परोपकार मावि , परोपकार चिकित्सालय र विभिन्न ३१ जिल्लामा दान विभाग सञ्चालनमा छन् भने निकट भविष्यमा दुवाकोटमा परोपकार वृद्धाश्रम खोल्ने संस्थाको योजना रहेको जनाएको छ ।