दसैँ खर्च वृद्धिको माग गर्दै विमानस्थलका श्रमिक आन्दोलनमा

काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका श्रमिकले सरकार, ठेकेदार र एयरपोर्ट व्यवस्थापनसँग तलब र दसैँ खर्च वृद्धिको माग गर्दै विमानस्थलभित्र धर्ना दिएका छन् । उनीहरुले विमानस्थलभित्र एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले आफ्ना माग पूरा नभए उडान नै अवरुद्ध गर्नेसम्मका चेतावनी दिएका छन् । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत करिब ४ सय श्रमिकहरुलाई दसैँमा तलब र पेश्की रकम उपलब्ध नभएको भन्दै श्रमिकहरु आन्दोलित बनेका हुन् । १९ गते हवाइ प्रधिकरणका महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने बताएका उनीहरुले ध्यानाकर्षण पत्र बुझाउने बताएका छन् ।
उनीहरुले २० गते विमानस्थलमा काम नगरी दुई घण्टा बन्द गरे । २१ गते सरसफाइदेखि सबै काम बन्द गर्ने र मानवअधिकार कार्यालय, संसद भवनमा लबिङ गर्ने मजदुरहरुले बताएका छन् । शान्तिपूर्ण मागप्रति वेवास्था भएपछि हड्तालमा उत्रन बाध्य भएको मजदुरहरुको भनाइ छ ।