संविधान संशोधन प्रक्रिया अगाडि बढाए युवा संघ र अनेरास्ववियुले आन्दोलन गर्ने

काठमाडौँ । एमालेका दुई भ्रातृ संगठन अनेरास्ववियु र युवा संघले पत्रकार सम्मेलन गरी संशोधन प्रक्रिया अगाडि बढाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै ती विद्यार्थी संगठनले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन र प्रतिनिधित्व, नागरिकता र भाषा आयोग लगायतका विषयमा साझा धारणा बनाएर अगाडि बढ्न औपचारिक प्रस्ताव अघि सारेको भोलिपल्टै यस्तो चेतावनी दिएका हुन् । उनीहरुले जनभावनाविपरीत संविधान संशोधन प्रक्रिया अगाडि बढाए आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् ।
मंसिर ९ गते ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक ‘बिग बहस’ को आयोजना गर्न लागेका ती संगठनले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएका हुन् ।
युवा संघका अध्यक्ष राजीव पहारीले जनभावना विपरीत वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाए चुप लागेर नबस्ने चेतावनी दिनुभयो । उहाँले जनभावना विपरीत सरकार अगाडि बढे त्यसका विरुद्ध सडक संघर्षमा उत्रिने चेतावनी समेत दिनुभयो । उहाँले संसद् भवन वरिपरि मानव साङ्लो बनाएर सांसद्हरुलाई संसद् भवनभित्रै थुनिदिने सम्मको चेतावनी दिए ।
प्रचण्ड नेतृत्वको सरकारले मुलुकलाई सिक्किमीकरण र भुटानीकरण गर्ने प्रयास गरिरहेको भन्दै त्यसको डटेर सामना गर्ने पनि चेतावनी दिनुभयो । पहारीले प्रधानमन्त्री प्रचण्डलाई लेण्डुप दोर्जे भएको आरोप लगाउनुभयो ।
कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले मधेसीका नाममा अंगीकृत नागरिकलाई सर्वोच्च पदमा लैजाने कांग्रेस र माओवादीको योजना सफल हुन नदिने चेतावनी दिनुभयो । उहाँले सरकार मनपरी ढंगले अगाडि बढे अनेरास्ववियु चुप लागेर नबस्ने चेतावनी पनि दिनुभयो ।