नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान राजदूत यू होङको प्रतिबद्धता

काठमाडौँ । नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राजदूतको कार्यभार औपचारिकरुपमा प्रारम्भ गरेको अवसरममा यहाँ आयोजित एक विशेष समारोहमा उहाँले पहाड र नदीहरुले जोडिएका चीन र नेपालबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभयो ।
सन् १९५५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकले एकअर्कालाई समानरुपमा व्यवहार र पारस्परिक सहकार्य अभिवृद्धि गर्दै आएको उहाँले बताउनुभयो ।
“हाम्रो सम्बन्ध स्थिर र सुदृढ छ, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, र क्षेत्रीय अखण्डता रक्षामा सघाउन चीन सधैँ तत्पर छ,”भन्दै राजदूत युले नेपालले अवलम्बन गरेको एक चीन नीतिलाई चीनले उच्चरुपमा सराहना गर्दै आएको बताउनुभयो ।
सन् २००९ देखि नेपाल–चीन बृहद् साझेदारी र सहयोगलाई अङ्गिकार गरेको र त्यो कहिल्यै क्षय नहुने मैत्री सम्बन्धले द्विपक्षीय सम्बन्धमा नयाँ उचाइ हासिल गरेको बताउँदै उहाँले विगतमा दुई देशबाट भएका उच्चस्तरीय भ्रमणले सम्बन्धलाई अझ मजबुद तुल्याएको उल्लेख गर्नुभयो ।
हालै भारतको गोवामा राष्ट्रपति सि जिङ पिङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेतवार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो । उहाँले नेपालको विकासमा चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित हुनुहुन्थ्यो । उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्योगपति एवम् वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।