नेपाललाई हिन्दुराज्य स्थापना गर्ने हाम्रो पहिलो एजेण्डा
— डा.प्रकाशचन्द्र लोहनी ,वरिष्ठ नेता, राप्रपा

पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपाल र राप्रपाबीच एकता भएको छ । यो एकतासँगै नेपालको राजनीतिमा चौथो शक्तिका रुपमा राप्रपा उदाएको छ । के अब यी दुई पार्टीको एकताले नेपालको राजनीतिमा केही फेरवदल होला ? के नेपालमा राजतन्त्र फर्किने संभावना होला ? के नेपालमा अब हिन्दुराज्यको संभावना छ ? यी र यस्तै विषयमा केन्द्रित भएर राप्रपाका शक्तिशाली नेता डाक्टर प्रकाशचन्द्र लोहनीसँग मैत्रीन्जयुज डटकमले गरेको कुराकानीः
विभाजन भएको निकै वर्षपछि फेरि राप्रपा नेपाल र राप्रपा एक भएका छन् । यो एकता देखावटी मात्र हो कि साँच्चैको हो ?
विल्कुल देखावटी होइन । हामीले आवश्यकता महसुस गरेर नै पार्टी एकता अभियानलाई अघि बढाएका हौँ । अब हामी औपचारिक रुपमै एक भएका छौँ र सबै नेताहरुले पनि यसलाई यसरी नै बुझ्नु भएको छ भन्ने मैले ठानेको छु ।
राप्रपा र राप्रपा नेपालबीच एकता भएको नेपाललाई हिन्दुराज्य कायम गर्नका लागि भन्ने छ नि । त्यही हो ?
नेपालका लागि हिन्दुधर्म पहिचान हो । पूर्णधार्मिक स्वतन्त्रतासहितको देश नेपाल हुनुपर्छ भन्ने हाम्रो पहिलादेखिकै अडान हो । सनातनदेखि मानिआएको हिन्दुधर्म अहिले पनि नेपाल पहिचानकै रुपमा रहीआएको छ । जनआन्दोलनको म्याण्डेट पनि नेपालबाट हिन्दुराज्य हटाउनु पर्छ भन्ने थिएन । नेपाल भारत र चीनको बीचमा अवस्थित हिन्दुराज्य हो । यसको पहिचान यहि ढंगले रहन दिनुपर्छ भन्ने राप्रपाको पनि मान्यता छ । संविधान हतारमा जारी गर्ने सिलसिलामा कसैलाई पनि नसोधी जसरी हिन्दुराज्यलाई पनि हटाउने काम भयो । यो गलत छ । अहिले पनि बहुसंख्यक नेपाली हिन्दुराज्य हुनुपर्छ भन्नेमा छन् । त्यसैले राप्रपा नेपाल र राप्रपाबीच एकता हुँदा पनि यो मुद्दामा कतै पनि फेरवदल होला भन्ने मैले ठानेको छैन । हामी सबैको एउटै एजेण्डा हो ।
राप्रपा नेपालले त नेपालमा अहिले पनि राजतन्त्र चाहिन्छ भन्दै आएको छ । तपाईँहरु पनि राप्रपा नेपालकै अडानमा हो ?
हामी अहिले केही असहमतिका बीच पनि संविधानलाई स्वीकार गरेर आएका छौँ । त्यसैले अहिले नै के गर्ने भन्दा पनि हामी छिट्टै महाधिवेशन गर्ने तयारीमा छौँ । महाधिवेशनका बेला यो एजेण्डा पनि उठाउँछौँ र त्यो महाधिवेशनले के निर्णय गर्छ त्यही अनुरुप हुन्छ । अहिले आ–आफ्ना दृष्टिकोण छन् । राजतन्त्र राख्ने कि नराख्ने भन्ने कुराको निर्णय महाधिवेशनले नै गर्नेछ ।
राप्रपा र राप्रपा नेपाल पहिला नेतृत्वकै विषयलाई लिएर विभाजन भएको हो । राप्रपामा पनि नेतृत्वकै विषयलाई लिएर निकै किचलो भएको पनि जगजाहेर नै छ । अब फेरि एकतापछि नेतृत्वको विषयलाई लिएर विभाजनको यात्रा सुरु नहोला भन्ने के आधार छ ?
महाधिवेशनसम्मका लागि पार्टी अध्यक्ष कमल थापा हुनुहुन्छ । राष्ट्रिय अध्यक्ष पशुपति सम्सेर जबरा हुनुहुन्छ । चक्रीय प्रणाली अनुसार माघ ११ गतेबाट उहाँले राष्ट्रिय अध्यक्षको पद छाड्नु हुन्छ । त्यसपछि प्रकासचन्द्र लोहनी राष्ट्रिय अध्यक्ष बन्ने हो । राष्ट्रिय अध्यक्ष पनि महाधिवेशनसम्मका लागि हो । त्यसपछि महाधिवेशनले जसलाई अध्यक्ष निर्वाचित गर्छ । उही नै अध्यक्ष बन्ने हो । त्यसैले पदका लागि लडाईँ हुने भन्ने कुरा संभावना छैन । अहिले पनि हामीले पदका लागि भन्दा पनि राष्ट्रिय आवश्यकतालाई महसुस गरेर पार्टी एकता गरेका हौँ । त्यसैले हामीबीचमा पदका लागि फेरि विभाजन हुने संभावना छैन ।
दुई पार्टी एकतापछि सीट संख्या पनि बढ्यो । भनेपछि त अव राष्ट्रिय राजनीतिमा पनि प्रभाव राम्रै हुने र संविधानलाई पनि राप्रपा अनुकुल बनाउँन केही सहज हुने देखियो नि होइन ?
संख्याले त स्वाभाविकै रुपमा केही प्रभाव त पारि नै हाल्छ । तर, हामी अहिले पनि जनभावना विपरीत दलहरु चल्नु हुँदैन भन्नेमा छौँ । तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले मात्र हामी दल हौँ । हामीले भनेपछि हुन्छ भन्ने संस्कार हावी गराउन खोजेकाले धेरै समस्या हुने गरेको छ । त्यो गलत छ । संविधान जारी गर्दाताकाकै कुरा गर्ने हो भने पनि त्यहाँ ९० प्रतिशत भन्दा बढीको सहमति थियो । तर, मधेसवादी दलहरुले गरेको आन्दोलनका कारण त्यसलाई कार्यान्वयन चरणमा लैजान त समस्या भएको छ नि ? हो, त्यसैले सबैलाई मिलाएर र सबैले अपनत्व गर्ने गरी संविधान जारी गरेर जानुपर्छ भन्ने हाम्रो भनाइ छ । त्यो भयो भने केही जटिल समस्यालाई पनि हल गरेर जान सकिन्छ । तर, दम्भ देखाएर जान खोज्ने हो भने त कोही पनि निष्कर्षमा पुग्न सक्दैन । त्यो दम्भ कसैले पनि देखाउँनु हुँदैन ।
अहिले सरकारले दम्भ देखाएर दुई–तिहाइको कुरा गरेर अघि बढ्न खोज्यो भने त्यो संभव छैन । सबैले सबै भन्दा पहिला राष्ट्रहितलाई केन्द्रमा राख्नुपर्छ । त्यो गर्न नसक्ने हो भने समस्या झन जटिल भएर जान्छ । अहिले पनि सरकार जुन ढंगले चल्न खोजेको छ । त्यो संभव होला जस्तो मलाई लाग्दैन । सबैको सहमतिमा राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नु नै अहिलको आवश्यकता हो ।
वर्तमान सरकारले सीमांकन फेरवदल र अंगीकृतवालालाई संवैधाननिक निकायका केही महत्वपूर्ण पदमा पनि जान बाटो खुल्ने गरी संविधान संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । यो कत्तिको उचित छ ?
अंगीकृतवालालाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान सेनापती, प्रधानन्यायाधीस जस्ता पदमा जाने बाटो खुला गर्नुपर्छ भन्ने कुराको राप्रपा र म व्यक्तिगत रुपमा पनि विपक्षमा छु । यो नेपालमा मात्र होइन विश्वका कुनै पनि देशमा छैन । त्यसैले नेपालमा मात्र यो लागू गर्नुपर्छ भन्ने तर्क उचित होइन । पुस्तौँदेखि तराई–मधेसमा बस्दै आउनु भएका नेपाली नागरिकले पनि त्यो कुरालाई मान्नुहोला भन्ने मलाई लगेको छैन । जहाँसम्म सीमांकनको सन्दर्भ छ । यो विषयमा सरकारले हामीसँग कुनै पनि छलफल गरेको छैन । त्यसैले अहिले नै यसो भन्ने आधार छैन । तर, राप्रपा सीमांकनको विषयलाई पनि राष्ट्रहितमा राखेर नै समाधान गर्नुपर्छ भन्नेमा छ । सरकारले यो विषयमा हामीसँग छलफल गरेको अवस्थामा हामी पनि केही विकल्प दिन सक्छौँ ।
संविधान त जारी भएको छ । तर, जारी भएको संविधान कार्यान्वयन नहुने हो कि भन्ने आशंका पनि त्यत्तिकै छ । तपाईँको विचारमा यो संविधान कार्यान्वयन हुने संभावना कत्तिको छ ?
संविधान जारी गरेको तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले नै हो । यदि यो कार्यान्वयन भएन भने त्यो दोष पनि उनीहरुलाई नै जान्छ । त्यसैले कार्यान्वयन गर्नुको अर्को विकल्प छैन । यदि संविधान कार्यान्वयन भएन भने देशमा ठूलो संकट उत्पन्न हुन सक्छ । त्यसको सबै जिम्मा तीन ठूला दलले नै लिनुपर्छ । संविधान जारी भएन भने देशका लागि त फाइदा हुँदैन नै दलहरुका लागि पनि फाइदा छैन । त्यसैले संविधान कार्यान्वयनका लागि कतिसम्म लचक हुने भन्ने कुरामा उहाँहरुले नै सोच–विचार गर्दा उत्तम हुन्छ भन्ने मैले ठानेको छु ।
संविधान जारी भएन भने देशमा रिक्तताको अवस्था आउँछ । त्यो बेला आन्तरिक र बाह्य हस्तक्षेपको पनि खतरा बढी हुन्छ । अनि अस्थिरता र अराजकता पनि बढी हुन्छ । यस्तो स्थिति नेपालमा आउने अवस्था नहोस् भन्ने हाम्रो सदीक्षा छ ।
अहिले सबैले नेपालमा भारतीय हस्तक्षेप भयो भन्ने गरेका छन् । के हस्तक्षेप नै भएको हो ?
कसैले पनि मैले हस्तक्षेप गरेँ भनेर भन्ने कुरा हुँदैन । आफू कमजोर भएपछि अथवा घरभित्र झगडा भएपछि छिमेकले किन यसो गरेको ? भनेर प्रश्न गर्ने कुरा स्वाभाविक हो । त्यसैले आफ्ना जनतालाई अधिकार वा संवृद्धि नदिने अनि अरुको भर पर्ने भयो भने त हस्तक्षेप स्वाभाविक हुन्छ ।
नेपालमा राजतन्त्र फर्किने संभावना कत्तिको छ ?
म ज्योतिष होइन । तर, राजनीतिक दलहरुले जनतालाई दिएको आस्वाशन पूरा गर्न सकेनन् भने जनताले नयाँ कुराको खोजी अवश्य गर्ने छन् । त्यो बेला यस्तो नहोला भन्न सकिन्न ।