कोलम्बिया सरकार र फार्क विद्रोहीबीच नयाँ शान्ति सम्झौतामा हस्ताक्षर

maitrinews

 

कोलम्बिया । कोलम्बिया सरकारले त्यहाँको विद्रोही समूह फार्कसँग आफूले गरेको नयाँ शान्ति सम्झौता अनुमोदनका लागि संसदलाई बुझाएको छ।
कोलम्बियामा करिब अढाई लाख मानिसहरुको ज्यान जाने गरी र लाखौं मानिसहरु आन्तरिक रुपमा विस्थापित हुने गरी भएको पाँच दशक लामो सशस्त्र द्वन्द्वलाई अन्त्य गर्ने उद्देश्यले यो नयाँ शान्ति सम्झौतामा हस्ताक्षर भएको हो।
राजधानी बोगोटामा एउटा संक्षिप्त समारोहबीच राष्ट्रपति ख्वान म्यानुअल सान्टोस र फार्कका नेता टिमोचेन्कोले हस्ताक्षर गरेको उक्त नयाँ सम्झौता संसदका सभामुखलाई हस्तान्तरण गरिएको छ।
यसअघिको शान्ति सम्झौता गत अक्टोबर महिनामा जनमत संग्रहमार्फत अस्वीकृत भएपछि नयाँ संशोधित शान्ति सम्झौतालाई भने अनुमोदनका लागि सिधै संसदमा बुझाएको छ।

राष्ट्रपति सान्टोसले गत अक्टोबरको जनमत संग्रहमा सम्झौतालाई अस्वीकार गर्ने पक्षमा मत हाल्नेको सरोकारलाई पनि सम्बोधन गरेकोले यो संशोधित सम्झौता पहिलाको भन्दा राम्रो भएको बताउनुभयो।
उहाँले भन्नुभयो, कोलम्बियाका जनताहरु, हामीले हस्ताक्षर गरेको यो नयाँ शान्ति सम्झौता पहिलाको भन्दा राम्रो छ किनभने यसले यसअघिको जनमत संग्रहमा शान्ति सम्झौताको पक्ष र विपक्षमा मत हाल्ने दुबैको भावना समेटेको छ। उहाँले उक्त सम्झौतामाथि अर्को साताको शुरुमा नै छलफल हुने अपेक्षा आफूले गरेको पनि बताउनुभयो।
विपक्षी पार्टीको नेतृत्व गरेका पूर्व राष्ट्रपति अल्भारो उरिबेले आफ्नो पार्टीले संसदको छलफल बहिस्कार गर्ने बताउनुभएको छ।