मध्यपुर थिमिमा ‘मेयर कप कराते’ प्रतियाेगिता, यस वर्ष बृहत् खेलकुद महोत्सव आयोजना गरिने
भक्तपुर, ३० जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा शुक्रबारदेखि भएकाे ‘मध्यपुर मेयर कप कराते प्रतियोगिता–२०८३’काे शनिबार उद्घाटनसत्र समापन भएकाे छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ मा नगरपालिकाले ‘बृहत् खेलकुद महोत्सव’ आयोजना गर्ने घोषणा गरेका हुन् ।
मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा स्थानीय खेलकुद समितिको संयोजनमा सुरु भएको सो प्रतियोगिताको नगरप्रमुख श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गरे । सो अवसरमा उनले खेलकुद क्षेत्रको विकास, नयाँ प्रतिभाको पहिचान र युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विशेष योजना अघि बढाएको बताए ।
नगरप्रमुख श्रेष्ठले खेलकुदलाई स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माणको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरे । उनले नगरभित्रका खेलाडी, प्रशिक्षक तथा खेल संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी वर्ष खेलकुद महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
“आगामी वर्षको महोत्सवमा करातेसहित विभिन्न खेल विधाका प्रतियोगिता र प्रदर्शनहरू समावेश गरिनेछ,” उनले भने, “यसले नगरभित्र लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्न र खेल संस्कृतिको विकासमा ठूलो टेवा पुग्नेछ ।” उनले नगरपालिकाले खेल पूर्वाधार निर्माण र बजेट विनियोजनमा खेलकुदलाई प्राथमिकता दिँदै आएको समेत स्पष्ट पारे ।
प्रतियोगितामा भक्तपुर नगरपालिका, चाँगुनारायन नगरपालिका, सर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाभित्रका विभिन्न डोजो, विद्यालय तथा क्लबका कराते खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ । विभिन्न तौल समूहमा विभाजन गरी सञ्चालन गरिएको यस प्रतियोगिताले तल्लो तहका प्रतिभावान खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकी र करातेका विशेष कलाहरू (डेमोस्ट्रेसन) प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, खेलकुद क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरू र ठूलो सङ्ख्यामा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।