२०२६ विश्वकप: राजनीतिक विभाजन र कडा सीमा नीतिका बीच ‘महाद्विपीय एकता’ धरापमा
मेक्सिको सिटी/वाशिंगटन (एजेन्सी) – उत्तर अमेरिकाका तीन राष्ट्र—संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा—को संयुक्त आयोजनामा २०२६ को फिफा विश्वकप सुरु भएको छ। तर, “महाद्विपीय एकता” को नारा दिइएको यस प्रतियोगिताको सुरुवातसँगै अमेरिकी सीमा नीति, भिसा प्रतिबन्ध र भू-राजनीतिक तनावका कारण गम्भीर प्रश्नहरू उब्जिएका छन्।
भिसा प्रतिबन्ध र खेल भावनामा आँच
प्रतियोगिताको सुरुवातमै अमेरिकाको कडा भिसा नीतिका कारण कैयौँ राष्ट्रका समर्थक र अधिकारीहरू सहभागी हुनबाट वञ्चित भएका छन्। इरानी फुटबल महासंघले आफ्ना तीन खेलका लागि पाएको टिकट कोटा रद्द गरिएको र १५ कर्मचारीलाई भिसा नदिइएको जनाएको छ। सोमालियाका शीर्ष रेफ्री ओमार आर्टन र हाइटीका समर्थकहरूलाई पनि अमेरिका प्रवेशमा रोक लगाइएको छ, जसले विश्वकपको “अन्तर्राष्ट्रिय भ्रातृत्व” को मर्ममाथि प्रहार गरेको विश्लेषकहरू बताउँछन्।
सैन्यीकृत सीमा र ‘किल्ला अमेरिका’
सह-आयोजक मेक्सिकोसँगको सीमामा अमेरिकाले अपनाएको कडा सैन्यीकरण र सुरक्षा नीतिले उत्सवको वातावरणलाई ओझेलमा पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिका कारण शरणार्थी र आर्थिक आप्रवासीहरूका लागि सीमा बन्द गरिएको छ। अर्कोतर्फ, इरानी टोलीलाई मेक्सिकोको सीमावर्ती सहर टिजुआनामा बस्न बाध्य पारिएको र खेलका लागि मात्र अमेरिका प्रवेश गर्न दिने नीतिले २०१७ को “रिमेन इन मेक्सिको” (Remain in Mexico) नीतिको झल्को दिएको छ।
फिफा र ट्रम्प: ‘शान्ति पुरस्कार’ को विवाद
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले राष्ट्रपति ट्रम्पलाई पहिलो “फिफा शान्ति पुरस्कार” प्रदान गरेपछि खेल जगतमा नयाँ विवाद उत्पन्न भएको छ। मध्यपूर्वमा जारी द्वन्द्व र गाजामा भएको मानवीय क्षतिमा अमेरिकाको भूमिकालाई लिएर आलोचना भइरहेका बेला यो पुरस्कार दिइनुलाई धेरैले “अस्वभाविक र राजनीतिक स्वार्थ प्रेरित” कदम भनेका छन्। अक्टोबर २०२३ यता गाजामा ७३,००० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ, जसमा ४०० भन्दा बढी फुटबल खेलाडीहरू समेत रहेका छन्।
मेक्सिको र क्यानडाको भूमिकामाथि प्रश्न
मेक्सिको सरकारले आफ्नो देशका १ लाख ३४ हजारभन्दा बढी बेपत्ता नागरिकहरूको खोजीमा लगानी गर्नुको साटो महँगो प्रतियोगिता आयोजना गरेको भन्दै आन्तरिक विरोध खेपिरहेको छ। त्यस्तै, क्यानडाले आफूलाई शान्त छिमेकीका रूपमा प्रस्तुत गरे तापनि इजरायललाई हतियार निर्यात गरेको विषयले उसको नैतिक पक्षमाथि प्रश्न उठाएको छ।
आर्थिक खाडल: महँगो टिकट र पहुँचको अभाव
यस पटकको विश्वकप इतिहासकै सबैभन्दा महँगो सावित भएको छ। टिकटको मूल्य अत्यधिक हुनुले फुटबललाई सर्वसाधारणको पहुँचबाट टाढा पुर्याएको र यसले पुँजीवादको कडा प्रभावलाई झल्काएको टिप्पणी गरिएको छ। १० हजार डलर खर्च गरेर टिकट किन्न सक्ने वर्ग र त्यति नै रकम बुझाएर ज्यान जोगाउन सीमा पार गर्ने आप्रवासीहरूका बीचको खाडलले प्रतियोगिताको मानवीय पक्षलाई फितलो बनाएको छ।
खेलले विश्वलाई जोड्ने अपेक्षा गरिए पनि २०२६ को विश्वकपले उत्तर अमेरिकी सीमामा रहेको विभाजन, राजनीतिक पाखण्ड र सुरक्षावादी सोचलाई थप उजागर गरेको छ। आलोचकहरूका अनुसार, यस पटकको प्रतियोगितामा फुटबलको सुन्दरताभन्दा बढी साम्राज्यवादी अहंकार र राजनीतिक पर्खालहरू हाबी भएका छन्।(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)