महानगरभित्रका १२८ डुबान क्षेत्र पहिचान : विपद् न्यूनीकरणमा काठमाडौँका कार्यवाहक प्रमुख प्रोएक्टिभ

काठमाडौँ,  जेठ ३० । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिकी संयोजक सुनिता डंगोलले आसन्न मनसुनका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि सक्रियता बढाउनुभएको छ । उहाँको अध्यक्षतामा बुधबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित डुबान क्षेत्रको पहिचानसहितको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ स्वीकृत गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष जेठ १८ देखि असोज १४ गतेसम्म अधिक वर्षा हुने प्रक्षेपण गरेपछि कार्यवाहक प्रमुख डंगोलले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालय र सम्बद्ध विभागहरूलाई विशेष निर्देशन दिनुभएको हो । बैठकमा उहाँले योजना कागजमा मात्र सीमित नभई कार्यान्वयनमा नतिजामुखी हुनुपर्नेमा जोड दिनुभयो ।

“राम्रो कार्ययोजना बनाएर मात्र पुग्दैन, त्यसको कार्यान्वयनका लागि निरन्तर अभ्यास र स्पष्ट कार्यविभाजन आवश्यक छ,” कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “तोकिएको स्थानमा आवश्यक उपकरणको उपलब्धता र त्यसमा समुदायको पहुँच सुनिश्चित गर्न म निर्देशन दिन्छु । कार्ययोजनाको सफल कार्यान्वयन नै हाम्रो मुख्य मूल्याङ्कनको आधार हुनेछ ।” उहाँले ठेगाना प्रणालीमा अलमल नहुने गरी उद्धार र राहतका लागि तयारी अवस्थामा रहन कर्मचारीहरूलाई सचेत गराउनुभएको छ ।

८ हजारभन्दा बढी परिवार जोखिममा
महानगरद्वारा गठित कार्यदलले गरेको अध्ययनअनुसार काठमाडौँका १२८ स्थानमा डुबानको जोखिम देखिएको छ । जसबाट करिब ८ हजार ३१५ परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान गरिएको छ । भौगोलिक अवस्थाका आधारमा बागमती र विष्णुमतीको दोभान क्षेत्रमा पर्ने वडा नं. १४ सबैभन्दा बढी जोखिममा रहेको पहिचान गरिएको छ । यस्तै, वडा नं. १६ मा सामाखुसी र विष्णुमतीका कारण करिब १ हजार ६ सय परिवार प्रभावित हुन सक्ने तथ्याङ्कले देखाएको छ ।

समितिका सदस्य सचिव अनिरुद्र नेपालका अनुसार वडा नं. १३, १५, २९, १०, २६ र ३२ लगायतका वडाहरू पनि डुबानको उच्च जोखिममा छन् । प्रभावित हुन सक्ने क्षेत्रका आधारमा वडा नं. ३० मा २१ स्थान र वडा नं. ४ र ३२ मा १०-१० स्थान जोखिमयुक्त मानिएका छन् ।

उद्धार र राहतको तयारी
विपद्का समयमा तत्काल परिचालन हुनका लागि महानगरले ११ वटा विभागलाई स्पष्ट जिम्मेवारी तोकेको छ । आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालयलाई आश्रयस्थलका रूपमा पहिचान गरिएको छ । कार्ययोजनामा सुरक्षा निकाय, दमकल, एम्बुलेन्स र स्वास्थ्य सेवाका अधिकारीहरूको सम्पर्क विवरणसहित वडास्तरीय विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राखिएको छ ।

हाल जोखिम न्यूनीकरणका लागि महानगरले दैनिक ३० जना जनशक्ति परिचालन गरी ढल प्रणाली, सतह ढल र सडक किनाराका ह्युम पाइपमा जम्मा भएको फोहर निकाल्ने काम गरिरहेको छ । ढलको अवरोध हटाएर पानीको नियमित प्रवाह सुनिश्चित गरिएपछि डुबानको जोखिम कम हुने महानगरको विश्वास छ । कार्यवाहक प्रमुख डंगोलको यो सक्रियताले मनसुनजन्य विपद्बाट हुनसक्ने मानवीय र भौतिक क्षति न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।