धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सार्वजनिक सूचना : अटेर गरे कानुनी कारबाही हुने
काठमाडौँ, जेठ ३० । गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठमन्दिर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन सार्वजनिक सूचना जारी गरेको छ । संस्थानले आज एक विज्ञप्ति जारी गर्दै गैरकानुनी रूपमा कब्जा गरिएका संरचनाहरू स्वतः स्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।
धनुषाका विभिन्न स्थानमा रहेका बहुमूल्य राजगुठीका सम्पत्तिहरू केही व्यक्ति तथा संस्थाहरूले अनधिकृत रूपमा कब्जा गरी भौतिक संरचनासमेत निर्माण गरेर भोगचलन गरिरहेको पाइएपछि संस्थानले यो कडा कदम चालेको हो । यस्ता अतिक्रमणकारी क्रियाकलापले सार्वजनिक, ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदाहरूको संरक्षणमा गम्भीर चुनौती थपेको संस्थानको ठहर छ ।
संस्थानद्वारा जारी सूचनामा भनिएको छ, “सूचनाको अवज्ञा गरी अनधिकृत संरचना वा कब्जा कायम राखिएमा प्रचलित कानुनबमोजिम बल प्रयोग गरी संरचना हटाइनुका साथै दोषीमाथि कडा कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।”
गुठी संस्थानले राजगुठीअन्तर्गतका सम्पत्तिको संरक्षण र समुचित व्यवस्थापन गर्नु सबै सरोकारवालाको साझा संवैधानिक र कानुनी दायित्व भएको उल्लेख गरेको छ । साथै, संस्थानले सार्वजनिक सम्पत्ति जोगाउने अभियानमा सहयोग पुर्याउन स्थानीय बासिन्दा, नागरिक समाज र सम्बन्धित सरकारी निकायहरूलाई समेत विशेष आह्वान गरेको छ ।
विशेष गरी धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने धनुषाका ऐतिहासिक पोखरी र मठ–मन्दिर क्षेत्रको सौन्दर्य र अस्तित्व बचाउन यो अभियान सुरु गरिएको संस्थानले जनाएको छ ।