संशोधन विधेयक फिर्ता गरी निर्वाचन विधेयक ल्याए संसदको अवरोध हट्ने

pm-oli1
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका ८ वटा दलले सरकारले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसदको आन्दोलन जारी राख्ने निर्णय गरेका छन् ।
सरकारमा सहभागी दलले पनि समर्थन नगरेको र प्रमुख सत्तारुढ दलभित्र पनि असन्तुष्टि रहेको विधेयक फिर्ता लिएर निर्वाचन सम्बन्धी विधेयकहरु संसदको कार्यसूचीमा ल्याउन पनि बैठकले माग गरेको छ । ‘दुई सय सांसदको प्रतिनिधित्व भएका ८ दलको बैठकले संविधान संशोधन विधेयक फिर्ता नहुन्जेलसम्म आफ्नो आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भन्नुभयो, ‘संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको विश्वास योग्य वतावरण बनाउन र निर्वाचन सम्बन्धी विधेयकहरु छलफलमा ल्याउन बैठकले माग गरेको छ ।’

निर्वाचन घोषणा गर्ने हल्ला मात्रै नगरी विश्वासयोग्य वतावरण बनाउन उनीहरुले सरकारसँग माग गरेका छन् । संविधान संशोधनको विपक्षमा एकतिहाइ भन्दा बढी सांसद स्पष्ट रुपमा देखिए पनि पारित नहुने उक्त विधेयक फिर्ता नलिने सत्तारुढ दलका नेताहरुले वताउँदै आएका छन् ।
संविधान संशोधनका पक्षमा दुईतिहाइ मत नपुग्ने स्पष्ट हुँदा हुँदै पनि विधेयक अघि बढाएपछि राजनीतिक ध्रुवीकरण बढेको छ ।