सम्पत्ति विवरण लुकाएको भन्दै युवा संघव्दारा प्रचण्डका नाममा एक रुपियाँ संकलन

काठमाडौं । नेकपा एमालेको युवा संघ नेपालले एक रुपैयाँ चन्दा उठाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आर्थिक सहयोग संकलन सुरु गरेको छ । युवा संघ नेपाल काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा युवा संघले विश्वकै गरिब प्रधानमन्त्री प्रचण्डलाई आर्थिक सहयोग संकलन सुरु गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरणमा प्रधानमन्त्री प्रचण्डले तीन तोला सुन र एक कट्ठा जग्गा मात्र भएको सार्वजनिक गरेपछि युवा संघले संकेतिक विरोध स्वरुप अभियान चलाएको हो । ‘प्रधानमन्त्रीको सम्पत्ति तीन तोला सुन र एक कट्ठा जग्गा त्यो पनि श्रीमती सीता दाहालको नाममा हुँनै सक्दैन्’, युवा संघ क्षेत्र नम्बर १ का अध्यक्ष अजयजंग शाहीले भन्नुभयो, ‘त्यसैले प्रधानमन्त्रीका लागि सांकेतिक विरोध स्वरुप एक रुपैयाँ चन्दा संकलन अभियान चलाएका हौँ ।’
युवा संघले प्रधानमन्त्रीले आफ्नो सम्पत्ति लुकाएर झुटो विवरण सार्वजनिक गरेको आरोप समेत लगाएको छ । संघले शुक्रबारबाट सुरु भएको अभियानका क्रममा उठेको रकम केही दिनमै प्रधानमन्त्री प्रचण्डलाई बुझाउने बताएको छ ।
नयाँ बानेश्वरबाट सुरु भएको एक रुपैयाँ संकलन अभियानमा कतिपयले परिवारको संख्या गनेर प्रतिव्यक्ति एक रुपैयाँका दरले सहयोग गरेको शाहीले बताउनुभयो
संघले प्रधानमन्त्रीले अकुत सम्पत्ति कमाएको तर सबै लुकाएर जनताका आँखामा छारो हाल्ने गरी सम्पत्ति विवरण सार्वजनिक गरेको आरोप लगाएको छ । उसले प्रधानमन्त्रीको सम्पत्ति छानबिन हनुपर्ने माग समेत अघि सारेको छ ।