यथास्थितिमा संविधान संशोधन हुन सक्दैन : थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अगाडि बढाइनुपर्ने बताउनुभएको छ । उहाँले यथास्थितिमा संविधान संशोधन हुन नसक्ने र त्यसमा आफ्नो दलको समर्थन नरहने स्पष्ट गर्नुभयो ।

पार्टी कार्यालय, धुम्बाराहीमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो– “यथास्थितिमा समझदारी नगरीकन विधेयक अघि बढाए राजनीतिक प्रतिउत्पादक हुने खतरा बढ्न सक्छ ।”
अध्यक्ष थापाले भन्नुभयो – “सर्वोच्चको फैसलापछि संशोधन विधेयकबारे संसद्मा बहस गर्ने बाटो खुलेको छ, तर यो कानुनी विषय मात्र होइन, राजनीतिक विषय पनि भएकाले संसद्मा रहेका राजनीतिक दलहरुसँग छलफल र सहमति गरेर अघि बढेर जानु बुद्धिमानी हुन्छ ।”

फरक प्रसङ्गमा अध्यक्ष थापाले पार्टी एकीकरणपछि स्वाभाविक रुपमा राप्रपाको सिट सङ्ख्याका आधारमा पार्टीको तर्फबाट मन्त्रिमण्डलमा थप सदस्य थप्नुपर्ने भए पनि यसबारे प्रधानमन्त्री, सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्रको भूमिकामा भरपर्ने बताउनुभयो ।