नेपाल–चीन सुरक्षा सहकार्यलाई अझ सुदृढ बनाउने चिनियाँ राजदूतको प्रतिबद्धता
काठमाडौँ, १८ वैशाख । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल र चीनबीचको सुरक्षा तथा कानुन कार्यान्वयनसम्बन्धी सहकार्यलाई अझ सुदृढ बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित ‘प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पीएलएससी)’ का प्रथम समूहका सहभागीहरूसँगको अन्तरक्रियामा राजदूत माओमिङले उक्त धारणा राखेका हुन्।
काठमाडौँस्थित चिनियाँ राजदूतावासका अनुसार, छलफलका क्रममा राजदूत माओमिङले नेपाल प्रहरीका भावी नेतृत्व (अधिकृतहरू) सँग समसामयिक विश्व परिवेश, क्षेत्रीय सुरक्षा चुनौती र नेपाल–चीन सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान गरेका थिए।
सो अवसरमा उनले दुई देशबीचको द्विपक्षीय सम्बन्ध निरन्तर मजबुत बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा सुरक्षा निकायबीचको सहकार्य थप उच्च तहमा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी प्रहरी अधिकृतहरूले पनि नेपाल र चीनबीचको सम्बन्धको वर्तमान अवस्था, आपसी सहकार्य र भविष्यका सम्भावनाबारे आ–आफ्नो धारणा राखेका थिए।