किरात समुदायले कक्फेक्वा तङ्नाम मनाए

पाँचथर, १ माघ । आज किरात येले संवत् ५०७७ तथा किराती समुदायको कक्फेक्वा तङ्नाम (माघेसङ्क्रान्ति) पर्व विविध कार्यक्रम गरी मनाइयो । आफूलाई किरातीको रुपमा चिनाउँदै आएका लिम्बू, राई, सुनुवार र याक्खा जातिले यो पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।
आजको दिन बिहानै उठी नुहाइधुवाई गरेर मौलिक कार्यविधिका साथ पूजापाठ गरी वनतरुलको टीका लगाई वनतरुल, घरतरुललगायतका फलफूल खाई एकापसमा सद्भाव र हार्दिकता विनिमय गर्दै यो पर्व मनाउने प्रचलन रहेको छ ।
त्यस्तै, आजैको दिनदेखि किरात येले संवत् ५०७७ सुरु हुने भएकाले किराती समुदायले आजको दिनलाई नयाँवर्षका रुपमा मनाउने गर्छन् । यस अवसरमा आज किराती समुदाय रहे–बसेको देश तथा विदेशका विभिन्न ठाउँमा भेला भई शुभकामना आदानप्रदानसँगै अन्य विविध कार्यक्रम गरेर कक्फेक्वा तङ्नाम तथा कुसङ येले तङ्बे अर्थात् नयाँवर्ष मनाउने कार्यक्रम सम्पन्न भयो ।
यसै अवसरमा आज फिदिम बजारको होटल युकेमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सुम्जिरी सुम्हा लुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठान र याक्थुङ येले पात्रो प्रकाशन समिति पाँचथरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाली काँग्रेस पाँचथरका सचिव रुपनारायण जवेगु, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरका अध्यक्ष मानदेव केरुङ, सङ्घीय समाजवादी फोरम पाँचथरका अध्यक्ष राजेश इङ्वा, नेकपा (माले)का राष्ट्रिय परिषद् सदस्य लय बाँस्कोटा, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पाँचथरका नरेन्द्र दुलालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, फिदिम नगर विकास समितिका अध्यक्ष ओनाहाङ नेम्बाङ, निमित्त जिल्ला शिक्षा अधिकारी युगमणि सवेहाङ, याक्थुङ प्रज्ञा–प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगु, फिदिम उच्च माविका प्राचार्य दुर्गाराज खत्री, गढी माविका प्रधानाध्यापक मानदेव थाम्सुहाङ, इगल एफएमका स्टेसन म्यानेजर जितेन्द्र भण्डारीले पनि येले तङ्बे ५०७७ तथा कक्फेक्वा तङ्नाम पर्वको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम सुम्जिरी सुम्हा लुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानका अध्यक्ष प्रेमप्रसाद तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको याक्थुङ येले पात्रो निर्माण समितिका सम्पादक तथा संयोजक हरिचन्द्र लावतीले जानकारी दिनुभएको छ ।
यसैबीच, माघेसङ्क्रान्ति पर्वको अवसरमा फिदिम बजारको शनिबारेस्थित शिवालय मन्दिरमा ४० जना वृद्धवृद्धालाई चियापानसँगै ज्येष्ठ नागरिक ८६ वर्षीय भीम भट्टराईलाई मन्दिरका पुजारी पुण्यप्रसाद घिमिरेद्वारा सम्मान गरिएको छ ।
त्यस्तै, फिदिम–२ दुम्ब्रिबोटेमा रहेको वृद्धाश्रममा पनि आश्रममा रहेका वृद्धवृद्धालाई चियापानसँगै सम्मान गरिएको सिद्धपोखरी सेवा सदनकी अध्यक्ष राधिका थापाले बताउनुभयो । उक्त दुवै स्थानमा हरेक महिनाको १ गते यही प्रकृतिको कार्यक्रम गरिँदै आएको समेत बताइएको छ ।
साथै, नेपाल मगर सङ्घ पाँचथरले पनि आज एक कार्यक्रम गरी माघेसङ्क्रान्ति पर्व मनाएको छ । मौलिक वेशभूषाको साथमा जिल्लाको हेंवाखोलामा पुगी आफ्नो जातीय परम्पराअनुसार पर्व मनाइएको नेपाल मगर सङ्घ, पाँचथरका यौवन थापामगरले जानकारी दिनुभएको छ ।