बरामद गरिएको ३३ किलो सुनले लहरो तान्दै
 
                              काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेलाई गृह मन्त्रालयमा तानिएको छ । विमानस्थलबाट गत पुस २१ गते ३३ केजी सुन बाहिरिएपछि उहाँलाई अनुसन्धानको लागि गृहले मन्त्रालयमा नै हाजिर हुने गरी बोलाएको हो।
उहाँको ठाउँमा गृह मन्त्रालयले गंगाराम गेलाललाई महानिर्देशक बनाएर विभाग पठाएको छ।
गृह मन्त्रालयका सहसचिव राजकुमार श्रेष्ठले भने नियमित प्रक्रिया अन्तर्गत सरुवा भएको दावी गर्नुभयो। स्रोतका अनुसार सुन काण्डमा अनुसन्धानको सिलसिलामा उहाँलाई गृह तानिएको हो। उहाँ एक वर्षभन्दा बढी समयदेखि अध्यागमन विभागमा महानिर्देशक हुनुहुन्थ्यो।
यसअघि अनुसन्धानका लागि सोमबार प्रहरी प्रधान कार्यालयले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीललाई हेडक्वार्टर तानेको थियो।
खत्री एक वर्षदेखि विमानस्थलमा कार्यरत थिए। विमानस्थलमा ठूलो मात्रामा अवैध सुन बाहिरिएपछि अनुसन्धानको लागि विमानस्थल भन्सार कार्यालयका २९ जना कर्मचारीलाई यसअघि नै जिम्मेवारीमुक्त गरेर अनुसन्धान गरिरहेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ किलो सुन तस्करीमा अनुसन्धान गरिरहेको छ। ब्युरोले तस्करीमा सलग्न रहेको अभियोगमा दुई जना सरकारी कर्मचारीसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ।
                          
                                                  
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			