खेलको माध्यमबाट मनका भावना साट्दै नेपाली अमेरिकी

maitrinews

 

पोखरा । सहारा क्लबको आयोजनामा पोखरामा सञ्चालित १५औँ आहा रारा गोल्ड कपमा एसोसिएसन अफ नेप्लिज इन अमेरिका एएनए को नेतृत्वमा आएको अमेरिकी फुटबल टोलीले आफूहरू खेल जित्न मात्र नभएर नेपाली मनका भावना साट्न आएको जनाएको छ ।

खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा एएनएका पदाधिकारी एवम् प्रतिनिधिले आफूहरू खेल जित्न मात्र नभएर नेपाली मनका भावना साट्नका लागि आएको बताउनुभयो ।
पत्रकारसम्मेलनमा एनएका प्रेसिडेन्ट मेदिनी अधिकारीले विश्वमा ४० लाखको हाराहारीमा नेपाली विदेशमा रहेको बताउँदै काम विशेषले उनीहरू जहाँ रहे पनि मन सधैँ नेपालमा नै हुने धारणा राख्नुभयो ।

नेपालको विकासका लागि आत्मबलको खाँचो रहेको कुरा औँल्याउँदै उहाँले एनआरएनएको सहयोगमा अमेरिकामा रहेर पनि नेपालको खेलको विकासका लागि धेरै गर्न सकिने बताउनुभयो । एएनएका कन्भेनर तथा अफिसर विजय श्रेष्ठले अमेरिकाभरि छरिएर रहेका नेपालीबीच एकता कायम गर्न एनएले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पोखराको प्रतियोगितामा नेपाली मूलका खेलाडी नेपाली मन साट्नैका लागि आएको उल्लेख गर्नुभयो ।

उसुका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा एनएका स्पोर्ट्स चियर लिड चन्द्र लामाले एएनएको टोलीमा केही सशक्त खेलाडी रहेको बताउँदै लामो यात्रा र थकानले खेलाडीमा केही शिथिलता आए पनि आहा–रारा गोल्डकप लिएर जानका लागि नै टोली मैदानमा उत्रने बताउनुभयो ।

नेपालका पूर्वराष्ट्रिय खेलाडी तथा एनएका टोलीनेता प्रलय राजभण्डारीले झापा–११ सँग हुने खेल निकै रोमाञ्चक हुने बताउँदै पोखराको खेल मैदान र परिवेश खेलाडीका लागि नयाँ भए पनि टोलीमा अमेरिकाको प्रतिष्ठित क्लबसँग आबद्ध खेलाडी भएकाले जित्ने लक्ष्यका साथ खेल्ने दाबी गर्नुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षता सम्पन्न पत्रकारसम्मेलनमा एएनएका टोली व्यवस्थापन समिति सदस्य बखन थापा, टोलीका प्रशिक्षक सुरज थापालगायत खेलाडीको उपस्थिति थियो ।

खेलाडी अमेरिकास्थित पाँच राज्यका विभिन्न ६० खेलाडीबाट २० जना छनौट भई पोखरा आएको एएनएले जनाएको छ ।