सरकार र मधेशी मोर्चाबीचको वार्ता विफल, संशोधनविना चुनाव हुन नदिने मोर्चाको अडान

 

काठमाडौँ । प्रचण्ड सरकारले स्थानीय तह निर्वाचनका लागि मधेसी मोर्चालाई मनाउन गरेको प्रयास विफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहानै नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको बैठक आव्हान गर्नुभएको थियो। आजको वार्तामा कुनै निष्कर्ष ननिस्किएको तर चाँडै वार्ता बस्ने सहमति भएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो। उहाँले भन्नुभयो, आज कुनै पनि सहमति भएन। उहाँहरूले आफ्नो प्रस्ताव ल्याउनु भयो, तर हामीले पहिल्यै हुन्न भनेको कुरा हो। प्रधानमन्त्री दाहालले राष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको मतदान अधिकार कटौती गर्ने प्रस्ताव गर्नुभएको थियो। उहाँले निर्वाचनको मिति घोषणा गरेर संविधान संशोधन र निर्वाचनलाई सँगसँगै तयारी अघि बढाउने बताउनुभएको थियो। तर, प्रधानमन्त्री दाहालको प्रस्तावमा मोर्चा सहमत हुन सकेन। आयोग स्थानीय तह पुनर्संरचना आयोगले जसरी यो प्रतिवेदन तयार गरेको छ, यो प्रकृयामै हाम्रो सहमति छैन, अध्यक्ष यादवले भन्नुभयो, यो प्रदेशको अधिकारको कुरा हो। यो प्रतिवेदन हामी मान्दैनौं। संविधान संशोधनको चरण पुरा नभर्इ निर्वाचनको कुरा पनि नहुने यादवको भनाइ छ। पहिले संविधान संशोधन हुनुपर्यो अनि निर्वाचनको कुरा हुन्छ, उहाँले भन्नुभयो, यदि प्रधानमन्त्रीले निर्वाचनको मिति तोक्नुभयो भने उहाँसँगको हाम्रो सम्बन्ध बिग्रिहाल्छ।