गठबन्धन सरकारले संसदीय परम्परा तोड्यो , सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी सांसद

काठमाडौँ। प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारले व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिम पद विपक्षी दललाई दिइँदै आएको संसदीय परम्परा तोडेको छ । सो परम्परा तोड्दै गठबन्धनले उम्मेदवार बनाएका नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय आज सभापतिमा निर्वाचित हुनुभएको छ । सत्तापक्ष भए पनि राप्रपाले भने एमालेलाई मत दिएको छ ।
समितिको सभापति चयका लागि आज भएको निर्वाचनमा उपाध्यायले २३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सांसद पशुपति चौलागाईले १६ मत प्राप्त गर्नुभयो । नौ जना सांसद भने अनुपस्थित हुनुहुन्थ्यो ।
समितिमा आवद्ध रहनु भएका ५० सांसदहरुमध्ये जेष्ठ सदस्य रहनु भएका सांसद सवेन्द्रनाथ शुक्लले मतदान गर्न नपाउने व्यवस्थाअनुसार कुल मतदाता ४९ थियो ।
तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जा मन्त्री हुनुभएपछि ६ महिनादेखि समितिको सभापति पद खाली रहेको थियो ।
सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले संयुक्त उम्मेदवारको रुपमा उपाध्यायलाई अगाडि सारेको थियो ।
उपाध्याय नेकपा माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभामा समानुपातिक तर्फबाट सांसद बन्नुभएको हो ।