काठमाडौँको गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि: तीन वटा वडामा पन्छी नष्ट गरिँदै, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बर्ड फ्लु रोग पुष्टि भएको छ । नगरपालिकाको वडा नं. २, ३ र ४ मा सङ्क्रमण देखिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन नगरवासीमा सार्वजनिक अपिल गरेको हाे ।

नगरपालिकाका अनुसार सङ्क्रमण देखिएका वडाहरूमा हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने कार्य भइरहेको छ । सङ्क्रमण थप फैलिन नदिन ती क्षेत्रहरूलाई पूर्ण रूपमा निःसङ्क्रमण गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

नगरपालिकाले रोग नियन्त्रणका लागि पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाएको छ । अनिवार्य प्रवेश गर्नै परेमा निसङ्क्रमण गरेर मात्र जान पाइने नियम लागू गरिएको छ । एक फार्ममा काम गर्ने मजदुर अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेटहरू पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसङ्क्रामक औषधि राख्न निर्देशन दिइएको छ ।

यसैगरी, कृषकहरूलाई खोरभित्र जाँदा छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसङ्क्रमण गर्न भनिएको छ । फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तत्काल सुरक्षित तवरले खाल्डोमा गाड्न समेत सचेत गराइएको छ । बर्ड फ्लुको जोखिम बढेसँगै काठमाडौँका अन्य क्षेत्रका किसानहरूमा समेत त्रास फैलिएको छ ।